सन्देश भुसाल , नेपालगञ्ज । नेपालगन्जस्थित बीपी चोक नजिकैको सुनाखरी रेस्टुरेन्टमा वेट्रेसको रूपमा कार्यरत २२ वर्षीया युवती निर्मला थापाको हत्या भएको छ। दैलेख घर भएकी निर्मला नेपालगन्ज–१२, बेलासपुरमा एक डेरामा बस्दै आएकी थिइन्। उनलाई बर्दिया घर भएका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरेको खुलेको छ।
Advertisement 1
प्रकाश नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत थिए। प्रहरीका अनुसार बुधबार राति प्रकाशले निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरेपछि आफ्नी बहिनीलाई भिडियो कल गरी “तिम्रो दिदीलाई मैले मारेँ, गाडी लिएर छिट्टै आउ, अन्तिम मुख हेर्नु पाउँछौ” भनेर खबर गरेका थिए।
Advertisement 2
नेपालगन्जमा दर्दनाक घटना: प्रेम सम्बन्धको कारण वेट्रेस युवतीको हत्या, प्रेमीले प्रहरीमा आत्मसमर्पण
Advertisement 3
बहिनीले घटनाको कारण सोध्दा उनले “आएपछि थाहा हुन्छ” मात्र भनेको बताइएको छ। त्यसपछि प्रकाश केही आफन्त र साथीहरूलाई भेट्दै “अब यति हो है, भेटघाट” भन्दै बिदा माग्दै हिंडेका थिए। राति करिब २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय, बाँके पुगेर आत्मसमर्पण गरेपछि घटना सार्वजनिक भएको हो।
प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच विगत करिब ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ। उनीहरू नेपालगन्ज–१२, बेलासपुरकै एउटै घरमा डेरा लिएर सँगै बस्दै आएका थिए। तर प्रकाश पहिले नै विवाहित थिए। उनका श्रीमती र दुई सन्तान (एक छोरा र एक छोरी) हाल बर्दियामा बस्दै आएका छन्।
प्रकाशले पहिलो विवाह पनि परिवारको सहमतिविना गरेका थिए। पछिल्लो ३ वर्षदेखि उनी निर्मला थापासँग सँगै बस्दै आएका थिए। निर्मलालाई उनले आफ्नै परिवारमा “कान्छी बुहारी” भनेर चिनाउने गरेका थिए।
प्रकाशले निर्मलासँग विवाह गरे पनि ‘इसाई धर्मावलम्बी भएकाले सिन्दूर हाल्न नपाइने’ भन्दै परिवारलाई चर्चमा बिहे भएको बताउने गरेको बहिनीले खुलाएकी छन्। निर्मलाको परिवार मगर समुदायकी हिन्दू हुन् भने प्रकाश सुनार इसाई धर्म मान्ने बताइएको छ।
मृतककी बहिनीका अनुसार घटना भएको दिन निर्मला बेलुकी ढिला कोठामा फर्किएकी थिइन्। घरबेटीले सोध्दा उनले जन्मदिनको पार्टीमा गएको बताएकी थिइन् भने प्रकाशलाई भने बजारको काम भएको भनेर ढिला भएको कारण दिएकी थिइन्। यही विषयमा उनीहरूबीच भनाभन हुँदै हातपात भयो र झगडा चर्किँदा प्रकाशले सलले निर्मलाको घाँटी बेरेर हत्या गरेका थिए।
प्रकाश र निर्मला पहिले स्वस्तिक कटेजमा सँगै काम गर्थे। पछि निर्मलाले “अब एकै ठाउँमा काम गर्नु हुँदैन” भन्दै सुनाखरी रेस्टुरेन्टमा काम गर्न थालेकी थिइन्। सुनाखरीमा उनी १४ महिनादेखि वेट्रेसको रूपमा कार्यरत थिइन्।
प्रकाशले आत्मसमर्पण गरेपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो। निर्मला थापाको शव कोठामै फेला परेको थियो। उनको शव अहिले भेरी अस्पताल, नेपालगन्जमा पोस्टमार्टमको लागि राखिएको छ। निर्मलाको परिवार भने घटना सार्वजनिक भएपछि मात्र नेपालगन्ज आइपुगेको थियो।
सुनाखरी रेस्टुरेन्ट प्रा.लि.का म्यानेजर घनश्याम न्यौपानेले मृतक निर्मला थापा इमान्दार, कर्मठ र सबैकासँग मिल्ने स्वभावकी कर्मचारी भएको उल्लेख गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। “हाम्रो परिवार स्तब्ध भएको छ। बहिनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं,” उनले भने।
स्थानीय बासिन्दा, मृतकका आफन्त तथा सहकर्मीहरूले निर्मलाको हत्यामा संलग्न प्रकाश सुनारलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। बाँके प्रहरीले भने हाल घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।










प्रतिक्रिया