Listen LIVE

नेपालगञ्ज, साउन १ : आज साउन १ गते, नेपालभर साउने (कर्कट) सङ्क्रान्ति पर्व विशेष हर्ष उल्लासका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनका रूपमा यो पर्व हिन्दू परम्परामा अत्यन्तै महत्वपूर्ण मानिन्छ।

Advertisement 1

 

सौरमासअनुसार यो दिनदेखि सूर्य दक्षिण दिशातर्फ गमन गर्न थाल्ने भएकाले दक्षिणायन आरम्भ हुने विश्वास गरिन्छ। उत्तरायण (माघ १) र दक्षिणायन (साउन १) लाई वैदिक सनातन संस्कारमा विशेष दिनको रूपमा लिने गरिन्छ।

Advertisement 2

 

खेतीपातीपछि परिवारसँग रमाइलोको दिन

Advertisement 3

नेपालका अधिकांश नागरिक असार महिनाभर कृषि कर्ममा व्यस्त रहने भएकाले आजको दिन किसान समुदायका लागि विशेष महत्त्व बोकेको हुन्छ। एक महिनासम्म हिलो मैलोमा काम गरेका किसानहरू साउन १ गते आफन्तसँग जमघट गरी स्नान, दान, पूजा, र विशेष परिकारहरू खान तथा रमाइलो गर्ने चलन छ।

 

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, असार महिनाको खेतीका क्रममा हिलोले लाग्ने छालासम्बन्धी रोगहरूबाट बच्न आजको दिन विशेष औषधिजन्य वनस्पति प्रयोग गरी “लुतो फाल्ने” परम्परा रहिआएको छ।

 

लुतो फाल्ने परम्परा र कण्डारक राक्षसको पूजा

परम्पराअनुसार आजको दिन घरघरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती, अनार, निबुवा आदि वनस्पति तथा फलफूल राखी ‘कण्डारक’ नाम गरेका पौराणिक राक्षसको पूजा गरिन्छ। यसपछि अगुल्टो सल्काएर लुतो फाल्ने परम्परा अनुसार ती वनस्पतिहरू जलाइन्छन् र घर वरपर छरिन्छन्।

 

यस क्रममा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने, ढिकी कुट्ने आदि चलन अझै नेपाली समाजमा जीवित छ। यसलाई दाद, लुतो, खटिराजस्ता चर्मरोगबाट मुक्ति मिल्ने धार्मिक विश्वाससँग जोडिएको छ।

 

भगवान् शिवको आराधना र महिलाको हरियो श्रृंगार

साउन महिनाभरि विशेष रूपमा भगवान् शिवको आराधना गर्ने परम्परा छ। विशेष गरी विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुख-समृद्धिका लागि ब्रत बस्ने, शिवलिंगमा जल अर्पण गर्ने, र हरियो चुरा, मेहेन्दी, रातो रङका पहिरन प्रयोग गर्ने गर्दछन्। साउन महिनाको हरियालीसँग नजिकिनु प्रकृतिसँगको समर्पणको रूपमा पनि लिइन्छ।

 

कर्णालीमा सार्वजनिक विदा

साउने सङ्क्रान्तिलाई विशेष महत्व दिँदै कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। कर्णालीका विभिन्न जिल्लामा आजको दिन पारिवारिक जमघट, विशेष परिकार भोजन, लुतो फाल्ने तथा परम्परागत सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ।

 

साउने सङ्क्रान्ति केवल खगोलशास्त्रीय दृष्टिकोणबाट मात्रै नभइ, जनजीवन, स्वास्थ्य, धर्म र सामाजिक एकताको प्रतिनिधि पर्वका रूपमा नेपालभर मनाइँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!