नेपालगञ्ज पोष्ट,दाङ : दाङको तुलसीपुरमा आज दिउँसो दुई फरक चोरी तथा लुटपाटको घटना सार्वजनिक भएका छन्। एक घटनामा मोबाइल चोरी भएको छ भने अर्को घटनामा लुटपाट प्रयासमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement 1

तुलसीपुर–११ स्थित सल्यानरोडमा रहेको रुक्मेली जनरल स्टोरबाट आइफोन ११ प्रो म्याक्स मोबाइल चोरी भएको छ। पसल सञ्चालक गणेशा बाठा पुनका अनुसार दिउँसो साढे १२ बजे तिर चुरोट किन्ने बहानामा पसलमा प्रवेश गरेकी एक महिलाले अवसर छोपेर मोबाइल चोरेर फरार भएकी हुन्।
Advertisement 2

“म ग्राहकसँग व्यस्त थिएँ, त्यही मौका छोपेर मोबाइल चोरेर गइन्,” बाठा पुनले बताउनुभयो। चोरीको घटनापछि खोजी गर्दा मोबाइल नपाएपछि सिसिटिभी फुटेज हेर्दा ती महिलाले नै मोबाइल चोरी गरेको स्पष्ट देखिएको उहाँले जानकारी दिनुभयो। अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिइएको छ र प्रहरीले खोजी कार्य तिव्र बनाएको जनाएको छ।
Advertisement 3
त्यसैगरी, तुलसीपुर बसपार्क क्षेत्रमा आज दिउँसो ५४ वर्षीया पार्वता अधिकारीको पर्सबाट पैसा निकाल्ने प्रयासमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाको नाम गीता भुषाल (२४), वीरगञ्ज घर बताइएको छ भने अर्की महिलाको विवरण खुलाइएको छैन।

पीडित अधिकारीका अनुसार, “म फोन गर्दै हिँडिरहेकी थिएँ, अचानक ब्याग हल्लिएको महसुस भयो। फर्किएर हेर्दा सिग्री खोलिसकेका थिए।” तुरुन्तै प्रहरीलाई खबर गरिएको र उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनको पर्समा करिब १० हजार रुपैयाँ रहेको बताइएको छ। घटनाले तुलसीपुरको व्यस्त बजार क्षेत्रमा समेत चोर र लुटेरा सक्रिय रहेको संकेत गरेको छ। प्रहरीले दुवै महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्ता घटनाबाट सावधान रहन र आफ्नो सम्पत्तिको सुरक्षा प्रति सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।










प्रतिक्रिया