नरैनापुरमा भीषण आगलागी: १७ घरगोठ जलेर नष्ट, २५ लाखभन्दा बढीको क्षति

सन्देश भुसाल, नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुरवामा मंगलबार दिउँसो भीषण आगलागी हुँदा १७ भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। दिउँसो करिब ३ बजे जुमाई खाँको घरबाट सुरु भएको आगो तीव्र हावाहुरीका कारण छिट्टै फैलिँदा ठूलो क्षति भएको हो।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिए। खरले छाएका र आपसमा जोडिएका घरगोठ भएकाले आगो निभाउन कठिनाइ भएको उनले बताए। प्रारम्भिक अनुमान अनुसार, आगलागीबाट २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

 

घटनास्थलमा नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा तथा विपद् शाखा प्रमुख भरत महतो सहितको टोली पुगेको छ। उनीहरूले पीडितलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

स्थानीय प्रशासनले विभिन्न निकायसँग समन्वय गरेर पीडितहरूका लागि अस्थायी पाल तथा खानाको व्यवस्था गरिरहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतका लागि आग्रह गरिएको अध्यक्ष शाहले जानकारी दिए।

 

error: Content is protected !!