भारत : भारतीय मिडिया संस्था एशियन न्यूज इन्टरनेसनल (एएनआई) ले कपिराइटको निहुँमा युट्युबरहरूसँग अत्यधिक रकम असुलेको आरोप सार्वजनिक भएपछि भारतीय डिजिटल क्रियटरहरू आक्रोशित भएका छन्। युट्युबरहरूले एएनआईलाई कपिराइट दुरुपयोग गरी ‘फिरौती असुलीको धन्दा’ चलाएको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध जनाएका छन्।
Advertisement 1
४१ लाख सब्सक्राइबर भएका लोकप्रिय युट्युबर मोहक मङ्गलले यो विषय सतहमा ल्याउँदै एक प्रमाणसहितको भिडियो आइतबार सार्वजनिक गरे। भिडियोमा उनले एएनआईले केवल केही सेकेन्डका फुटेज प्रयोग भएको आधारमा कपिराइट स्ट्राइक हानेर च्यानल बन्द गर्ने धम्की दिँदै ४० लाख भारु फिरौती मागेको खुलासा गरेका छन्।
Advertisement 2
उनका अनुसार, ११ सेकेन्डको क्लिप प्रयोग गरेबापत ‘कोलकाता बलात्कार काण्ड’ सम्बन्धी भिडियोमा पहिलो स्ट्राइक आएको थियो भने ९ सेकेन्डको क्लिप प्रयोग गरेको ‘अपरेसन सिन्दूर’ शीर्षकको अर्को भिडियोमा दोस्रो स्ट्राइक लगाइएको थियो।
Advertisement 3
युट्युबको नियम अनुसार, कुनै च्यानलमा तीन कपिराइट स्ट्राइक आएमा च्यानल स्थायी रूपमा मेटिन्छ। यही कमजोरीलाई अवसरका रूपमा प्रयोग गर्दै एएनआईले थप आठ स्ट्राइकको धम्की दिँदै महँगो सब्सक्रिप्सन लिन वा नगद तिर्न दबाब दिएको मोहकको आरोप छ।
उनले भिडियोमा एएनआई प्रतिनिधिसँग भएको कुराकानीको रिक्रियसन अडियोसमेत सार्वजनिक गरेका छन्, जसमा एएनआईका प्रतिनिधिले ‘क्लिपको लम्बाइ होइन, अनुमति नलिई प्रयोग’ नै स्ट्राइकको कारण भएको बताएका छन्।
ईमेल संवादमा एएनआईले वार्षिक ४८ लाख भारु (प्लस GST) तिर्नुपर्ने प्रस्ताव राखेको मोहकको दाबी छ। यदि नतिरे च्यानल मेटाइने स्पष्ट धम्की दिइएको थियो। यस घटनापछि मोहकले सूचना तथा प्रसारण मन्त्रालयलाई प्रमाणसहित उजुरीसमेत दिएका छन्।
यस घटनापछि ध्रुव राठी, नितिश राजपुत, थगेश, कुनाल कम्रालगायत थुप्रै चर्चित युट्युबरले मोहकलाई समर्थन जनाएका छन्।
ध्रुव राठीले भने, “तपाईंलाई पूर्ण समर्थन छ। एएनआईको यस्तो धन्दा बन्द हुनुपर्छ।” नितिश राजपुतले युट्युबले क्रियटरको हितमा काम गर्नुपर्ने बताएका छन्। थगेशले त आफैंले दुई सेकेन्डको फुटेज प्रयोग गरेबापत १५ लाख मागिएको अनुभव सुनाएका छन् । कुनाल कम्राले त एएनआईलाई युट्युबबाट प्रतिबन्ध लगाउनुपर्ने मागसमेत गरेका छन्।
यस विवादपछि #BanANI, #StandWithCreators, #UnsubscribeANI जस्ता ट्रेन्ड सामाजिक सञ्जालमा चलिरहेका छन्। धेरै दर्शकहरू एएनआईका च्यानल अनसब्सक्राइब गर्न थालेका छन्।
यो पहिलो पटक होइन, अन्य युट्युबरहरूले पनि अघिल्लो वर्षहरूमा च्यानल बचाउन लाखौं बुझाएको अनुभव सार्वजनिक गरेका थिए।
क्रयटर समुदायमा बढ्दो आक्रोशसँगै युट्युब, भारत सरकार र मिडिया नियामक संस्थाहरूले यस विषयमा गम्भीर चासो देखाउन आवश्यक भएको छ। एएनआईको यस्तो व्यवहारले डिजिटल स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सर्जनशीलतालाई सीधै चुनौती दिएको छ।










प्रतिक्रिया