नेपालगन्ज पोष्ट ,दैलेख, जेठ ४– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी भएको दाबी गरेका छन्। आइतबार दैलेख सदरमुकाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना पुर्खाहरू दैलेखकै भएकाले आफू पनि दैलेखी भएको गर्वका साथ बताएका हुन्।
Advertisement 1
“केही समयअघि प्रधानमन्त्रीकै हैसियतमा दैलेखको दह गाउँमा आएर हाम्रो पुर्खाहरूको सालिक अनावरण गरेको थिएँ,” प्रचण्डले भने, “आज म तपाईँहरू दैलेखवासीकै अगाडि उभिएर म पनि दैलेखी नै हुँ भन्दा गर्व लागेको छ।”
Advertisement 2
उनले दैलेखलाई आफ्नो पुर्खाहरूको थलो भएकोले विशेष महत्त्व लाग्ने बताए। दैलेख जिल्लाको दुल्लु नगरपालिका ३३ वटा जातजातिको साझा बसोबास रहेको क्षेत्र हो, जसको दह गाउँ दाहालहरूको उद्गम थलो मानिन्छ।
Advertisement 3
त्यसै अवसरमा प्रचण्डले जनयुद्धका क्रममा दैलेखमा भएका केही कमजोरीको पनि स्मरण गरे। उनले माओवादी आन्दोलनको क्रममा ‘दुल्लु विद्रोह’ जस्तो गम्भीर घटनाहरू जनताको असन्तुष्टिका कारण भएको स्वीकार गर्दै ती कमजोरीहरू पछि सच्याइएको स्पष्ट पारे।
“जनयुद्धको वेलामा पनि दैलेखमा केही विवाद, कमीहरू भएका थिए, त्यसलाई हामीले सच्याएका थियौँ,” प्रचण्डले जनतालाई सम्बोधन गर्दै भने।
उनको यस्तो अभिव्यक्तिलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन् भने केहीले इतिहासको स्मरण गराउँदै जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।











