
बाँके, नरैनापुर : नरैनापुर गाउँपालिकाको कोहोलादेखि सन्तानेश्वर मन्दिरसम्म निर्माणाधीन मदन भण्डारी पदमार्गमा चरम अनियमितता र आर्थिक घोटालाको आशंका स्थानीयले गरेका छन्।
Advertisement 1
करिब ८३ लाख रुपैयाँको लागत अनुमान गरी सार्वजनिक टेन्डर आह्वान गरिएको उक्त योजनामा टेन्डर रकम ४८ प्रतिशत घटाएर मात्र ४३ लाखमा सम्झौता गरिएको खुलेको छ। यद्यपि, सो लागतअनुसार अहिले सम्म जम्मा करिब १ किलोमिटर मात्र ग्राभेल गरिएको देखिन्छ, त्यो पनि गुणस्तरहिन रहेको स्थानीयको गुनासो छ।
Advertisement 2
स्थानीयका अनुसार यस योजनालाई सुनिर समूह बाँकेसँग नजिक रहेका सूर्य ढकाल र नरैनापुरका उनका झोले समूहको चलखेलमा मदन भण्डारी पदमार्गको नाम दिइएको हो। “विकासको नाममा जनताको आँखामा छारो हालिएको छ,” एक स्थानीय बासिन्दाले बताए।
Advertisement 3
स्वर्गीय मदन भण्डारी जस्तो राष्ट्रप्रेमी नेताको नाममा ल्याइएको योजनाको यस्तो लज्जास्पद दुरुपयोग आफैँमा भण्डारीप्रति अपमान भएको नागरिक अगुवाहरूको भनाइ छ। साथै, सन्तानेश्वर मन्दिरसम्म पुग्ने पदमार्ग भक्तजनहरूको आस्थासँग प्रत्यक्ष जोडिएको हुँदा योजना अझै संवेदनशील बन्न पुगेको हो।
विशेष गरी श्रावण महिनामा हजारौं श्रद्धालुहरू हिलो र धुलोबीच पैदल यात्रा गर्न बाध्य छन्। यस्तो अवस्था देख्दा श्रद्धालुहरू प्रश्न गरिरहेका छन् — “के यही हो पारदर्शी शासनको नमुना?”
स्थानियहरूले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने माग गर्दै निम्न कुराहरू सार्वजनिक रूपमा उठाएका छन्:
८३ लाखको टेन्डर र ४३ लाखमा सम्झौता गरिएको योजनाको स्पष्ट सार्वजनिक विवरण प्रस्तुत गरिनुपर्छ।
योजना कार्यान्वयन प्रक्रिया, अनुगमन, र गुणस्तर मूल्याङ्कन खुला र पारदर्शी ढंगले सार्वजनिक गरिनुपर्छ।
श्रद्धालुहरूको सहजताका लागि तत्काल सुधारात्मक कार्य अघि बढाउनुपर्ने आवश्यकता छ।
यसबीच, सूर्य ढकाल जस्ता नेताहरूलाई जनताले प्रश्न गरिरहेका छन् — “तपाईंको पार्टीको श्रद्धेय नेताको नाममा भइरहेको यस्तो दुरुपयोगको जवाफ तपाईं दिन सक्नुहुन्छ?”
नरैनापुरका स्थानीय नागरिक तथा श्रद्धालुहरू अब यो विषयमा ठोस जवाफ र सुधारको अपेक्षा गरिरहेका छन्।