साउन ५, नेपालगञ्ज :आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन, देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको अपार भीड देखिएको छ। बिहानैदेखि पशुपतिनाथ मन्दिरदेखि लिएर स्थानीय शिवालयहरूमा भक्तजनहरू शिवलिंगमा जल अर्पण गर्न लामबद्ध देखिएका छन्।
Advertisement 1
श्रावण महिना भगवान् शिवको विशेष महिना हो भने सोमबार शिवजीको प्रिय वार मानिन्छ। यही कारणले आजको दिन निराहार व्रत बसेर शिवलिंगमा जल, दूध, दही, घ्यू, मह, चिनी लगायत पञ्चामृत अर्पण गर्दै बेलपत्र, धतुरा, आक, फूल चढाएर विशेष पूजा अर्चना गर्ने चलन रहिआएको छ। खासगरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिव पूजामा सहभागी भएका थिए।
Advertisement 2
हिन्दू शास्त्र अनुसार श्रावण महिनामा भगवान् शिवको पूजा गर्दा मनोकामना पूर्ति, पाप नाश र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिवपुराणका अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट उत्पन्न हलाहल विष पान गरेर संसारको रक्षा गरेका थिए। ज्योतिषीय दृष्टिले साउन महिनामा सूर्य कर्कट राशिमा प्रवेश गर्दा चन्द्रमा बलवान् हुने र यसले मानसिक शान्तिमा सहयोग पुर्याउने मान्यता छ।
Advertisement 3
सोमबारको व्रत निर्जला, फलाहार वा एक छाक सात्त्विक भोजनसहित बस्न सकिन्छ। व्रतालुहरूले बिहान ब्रह्ममुहूर्तमा उठेर स्नान गरी सफा वस्त्र धारण गर्ने, शिवलिंगमा पञ्चामृत र जल अर्पण गर्दै शिव चालिसा, रुद्राष्टक, तथा व्रत कथा पाठ गर्ने परम्परा रहेको छ।
पशुपतिनाथ मन्दिरमा आज विशेष पूजाका साथै भक्तजनहरूको ठूलो भिड लागेको छ। त्यस्तै, रूपन्देहीको पर्रोहवा परमेश्वर बोलबम धाममा पहेंलो वस्त्रमा सजिएर भक्तजनहरूले पवित्र नदीको जल ल्याई शिवलिंगमा अर्पण गरेका छन्। साउन महिनाभर यहाँ भक्तजनको घुइँचो लागिरहन्छ भने सोमबार झन् विशेष भीड लाग्ने गर्छ।

नेपालगञ्जमा बागेश्वरी मन्दिर, राप्तीपारिको सन्तानेश्वर महादेव मन्दिर, बर्दिया बाँसगढीको केदारेश्वर धाम, लगायतका शिवालयहरूमा पनि श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ।





त्यस्तै, बुटवल, पाल्पा, भैरहवा, तिलोत्तमा लगायतका स्थानहरूमा रहेका प्रसिद्ध शिवालयहरूमा समेत भक्तजनहरूले जलार्पण गर्दै शिव पूजामा भाग लिएका छन्। शिद्धबाबा धाम, मुक्तिनाथ धाम, मोक्षधाम, बसडिलहवा शिव मन्दिरलगायत स्थानमा पनि श्रद्धालुहरूको घुइँचो लागेको छ।
आजको दिनले धार्मिक श्रद्धा, सामाजिक सद्भाव र भक्ति भावनालाई झनै बलियो बनाएको देखिएको छ। साउन महिनाको प्रत्येक सोमबार यसरी नै देशभर भक्तिभावका साथ शिव पूजामा रमाउने परम्परा निरन्तर चलिरहेको छ।
तस्बिर का लागि धन्यवाद : टार्जन वली र अनजान केसी










प्रतिक्रिया