खजुरा,डि गाउ : बाँकेको खजुरा गाउँपालिका-४, डि गाउँ थपलटमा आज दिउँसो भएको आगलागीले स्थानीय लालबहादुर रोकायाको घरगोठ पूर्ण रूपमा नष्ट भएको छ। दिउँसो करिब ३ बजे लागेको आगोका कारण रोकायाको माटोको दिवाल भएको टायलले छाएको घर र खरले छाएको गोठ जलेर नष्ट भएको हो।

घरमा रहेका आवश्यक कागजात, लत्ताकपडा, खाद्यान्न तथा अन्य सामग्री आगलागीमा जलेर नष्ट भएका छन्। मानवीय क्षति नभए पनि रोकायाको सर्वस्व यही घर भएकाले परिवारलाई ठूलो समस्या परेको छ। खेतमा मसुरो काट्न गएका बेला घरमा एक्कासी आगलागी भएको थाहा पाएको रोकायाले बताए।

आगलागी भएपछि स्थानीय बासिन्दाले आगो नियन्त्रणमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेनन्। त्यसपछि नेपालगन्ज उपमहानगरपालिकाको दमकल बोलाइए पनि आगलागी निकै तीव्र भएकाले दमकल आइपुग्दा घर आधाभन्दा बढी जलेको थियो। नागरिक आरोग्य केन्द्रका कर्मचारीसमेत रहेका पीडित रोकायाका बुहारी सविना केसी रोकायले जानकारी दिएकी छिन्।

 

इलाका प्रहरी कार्यालय धनौली, खजुराका अनुसार आगलागीबाट करिब १० लाखभन्दा बढीको क्षति भएको छ। रोकायाको थप घरमा आगो फैलिन नदिन प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा प्रयास गरेका थिए।

 

गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएकाले स्थानीयलाई आगलागीबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। आगलागीबाट बेघर बनेका रोकायाको परिवार अहिले बसोबासको चिन्तामा छ। सरकारी तथा गैरसरकारी निकायबाट राहत र पुनर्वासका लागि पहल गरिने आशा गरिएको छ।

 

Leave a Reply

error: Content is protected !!