सन्देश भुसाल, नेपालगन्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात र निर्यात दुबै वृद्धि भएको छ।

 

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म ४२ अर्ब ३४ करोड ९५ लाख बराबरको सामान आयात भएको छ। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा २ अर्ब ४४ करोडले बढी हो। गत वर्ष सोही अवधिमा ३९ अर्ब ९० करोड ३९ लाख बराबरको सामान आयात भएको थियो।

 

यस्तै, चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब ५१ करोड ४३ लाख बराबरको सामान निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १७ करोड ५९ लाखले बढी हो। गत वर्ष सोही अवधिमा १ अर्ब ३३ करोड ८४ लाख बराबरको सामान निर्यात भएको थियो। निर्यातमा १३ प्रतिशत वृद्धि हुनु सकारात्मक संकेत रहेको भन्सार कार्यालयको भनाइ छ।

 

सूचना अधिकारी खड्काका अनुसार मुख्य रूपमा निर्यात हुने वस्तुहरूमा खोटो रोजीन, तार्पिन तेल, काजु, अदुवा, खरेटो-कुचो, बहुमूल्य पत्थर, सिलाजित पेष्ट, सिमेन्ट खैरो, खयर कत्था, वनस्पतिका सारहरू, एसेन्सियल आयल, रिठ्ठा, र नौनी बटर घ्यू रहेका छन्।

 

त्यस्तै, नेपालगन्ज नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ, चामल, दलेको तथा नदलेको दाल, कपडा, मकै, चिनी, तरकारी तथा फलफूल, र विभिन्न मेसिनरीका सामानहरू रहेका छन्।

 

आयात-निर्यातमा वृद्धि भएसँगै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा राजस्व संकलन ११ प्रतिशतभन्दा बढीले बढेको छ। विशेष गरी जडिबुटी तथा विभिन्न प्रकारका तेलहरूको निर्यात वृद्धि भएकाले आगामी दिनमा निर्यात थप वृद्धि हुने अपेक्षा गरिएको छ।

 

Leave a Reply

error: Content is protected !!