सन्देश भुसाल,कैलाली : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टले जन्मदिनको बहानामा विद्यालयकी छात्रामाथि दुर्व्यवहार गर्न खोजेको घटना सार्वजनिक भएको छ।
Advertisement 1
फागुन २ गते आफ्नो जन्मदिन मनाउने योजनासहित प्रधानाध्यापक भट्टले विद्यालयकी चौधरी थरकी छात्रालाई घोडाघोडी ताल जान प्रस्ताव राखे। छात्राले एक्लै जान नमानेपछि उनले अन्य शिक्षक पनि जाने बताए। छात्राले पनि साथी लैजाने बताइन्, जसलाई भट्टले सहजै स्वीकार गरे।
Advertisement 2
भट्ट र उनका साथी पहलमानपुरमा दुईवटा मोटरसाइकल लिएर छात्राहरूको प्रतीक्षा गरिरहेका थिए। प्रारम्भिक योजना अनुसार घोडाघोडी ताल जाने भनिए पनि शिक्षकहरूले त्यहाँ नरोकी सुखडतर्फ मोटरसाइकल कुदाए। छात्राहरूले गन्तव्यबारे प्रश्न गर्दा शिक्षकहरूले ‘केही पर पुगेर फर्किने’ भन्दै बहाना बनाए।
Advertisement 3

तर, सुखड पार गरेपछि पनि उनीहरू रोकेनन्। जब छात्राहरूले फेरि प्रश्न गर्न थालिन्, तब शिक्षकहरूले ‘चिसापानीसम्म पुगेर फर्किने’ बताए। यद्यपि, शिक्षकहरूको व्यवहार र बोलीचालीले छात्राहरूलाई डर लाग्न थालिसकेको थियो।
लम्कीको जंगल नजिक पुगेर शिक्षकहरूले आपसमा हाँसोठट्टा गर्न थाले। भट्टले जंगलतर्फ संकेत गर्दै ‘अब कता जाने हो र? यतै जाउँ’ भन्दै साथीहरूसँग मजाक गरे। त्यसपछि मात्र उनीहरू चिसापानीतर्फ लागे।

चिसापानी नपुग्दै बाटोमै भट्टका शिक्षक साथीले छात्रामाथि अश्लील प्रश्न गर्न थाले। ‘तिम्रो साथीको बाइफ्रेन्ड छ कि छैन?’ भन्ने प्रश्नपछि जब छात्राले ‘छैन’ भनिन्, तब उनले झन् आपत्तिजनक टिप्पणी गरे – ‘किन नहोला र यति राम्रो छे!’
शिक्षकहरूले यत्तिमै रोकिएनन्। भट्टको साथीले अर्को छात्रालाई ‘उसले कुर्ता भित्रबाट केही लगाएको छ कि छैन?’ भन्दै गम्भीर रूपमा अपमानजनक प्रश्न गरे। छात्राहरू झनै असहज महसुस गर्न थाले।
चिसापानी पुगेपछि भट्टले छात्रामध्ये एकलाई हुडी किनिदिएर ‘मेरो जन्मदिनमा तिमीलाई उपहार!’ भने। उपहार दिने बहानामा छात्राहरूको विश्वास जित्न खोजिएको स्पष्ट देखिन्थ्यो। त्यसपछि उनीहरू कर्णाली पुलतर्फ लागे। पुलमा पुगेर शिक्षकहरूले फोटो खिचे। त्यसपछि नास्ता खान होटेल गए।
होटलमा नास्ता खाइसकेपछि शिक्षकहरूले छात्राहरूलाई टीकापुर जान प्रस्ताव गरे। जब छात्राहरूले इन्कार गरिन्, तब शिक्षकहरूले होटलमै लामो समय बिताउन थाले।
बिस्तारै, शिक्षकहरूले छात्राहरूलाई ‘रात यतै बिताउन’ दबाब दिन थाले। उनीहरूले मोबाइल बन्द गर्न, घरमा साथीको घरमा रहेको भनेर झुट बोल्न निर्देशन दिए। ‘हामीले भनेजस्तै भनेपछि परीक्षामा पास गराउने जिम्मा हाम्रो’ भन्दै छात्राहरूलाई धम्क्याए।
शिक्षकहरूको व्यवहारबाट असुरक्षित महसुस गरेपछि छात्राहरूले भाग्ने निर्णय गरिन्। उनीहरू होटलबाट चुपचाप निस्केर करिब एक किलोमिटर पैदल हिँडेर लम्की फर्किए। तर, रात परिसकेकाले सार्वजनिक गाडी भेटिएन। अन्ततः उनीहरूले कुखुरा बोकेको गाडी रोकेर लम्की पुगे।
छात्राहरू लम्की पुगेको जानकारी पाएपछि शिक्षकहरूले पटक–पटक फोन गरेर फकाउने प्रयास गरे। उनीहरूलाई मसुरिया फर्कन दबाब दिइयो। तर, छात्राहरूले अन्य मानिसलाई बोलाएर सुरक्षित रूपमा राति १० बजे मात्र घर पुगे।
फागुन १० गते, पीडित छात्रामध्ये एकले विद्यालय व्यवस्थापन समितिमा प्रधानाध्यापक भट्टविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिइन्। साथै, इलाका प्रहरी कार्यालय, मसुरियामा पनि उजुरी दर्ता गराइयो। तर, प्रहरीले घटनास्थल चिसापानी भएकाले लम्कीमा उजुरी दिन सुझायो। अन्ततः कुनै ठोस कारबाही भएन।
विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक भट्टलाई छात्राको खुट्टा ढोगेर माफी माग्ने नाटक गरायो। यसरी, यौन दुर्व्यवहारको गम्भीर घटनालाई मिलापत्रका नाममा ढाकछोप गरियो।
यस घटनाबारे थप जानकारी लिन प्रधानाध्यापक भट्टलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्। विद्यालय प्रशासनले पनि घटनाबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ। छात्रा र उनका परिवारले दोषीलाई कानुनी सजाय दिन माग गरेका छन्। तर, अहिलेसम्म कुनै कारबाही नभएकाले उनीहरू न्यायको खोजीमा छन्।










प्रतिक्रिया