सन्देश भुसाल,बाँके, फागुन १८ : विवाहको खुसी शोकमा परिणत हुने हृदयविदारक घटना बाँकेको सोनारी गाउँपालिका–७ बेलोनिया चोकमा घटेको छ। गए राति भएको सडक दुर्घटनामा बेहुला अर्जुन पासीको मृत्यु भएपछि परिवारमा शोकको छायाँ छाएको छ।
Advertisement 1
२४ वर्षीय बसन्तपुर निवासी अर्जुन पासीको आज, फागुन १८ गते, विवाह हुने तय भएको थियो। विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको थियो, घरमा आफन्तजन भेला भएका थिए, नाचगान र हर्षोल्लासको माहोल थियो। तर, अचानक अर्जुनको मृत्युको खबरले खुसी शोकमा परिणत भयो।
Advertisement 2
नेपालगञ्जबाट नरैनापुरतर्फ जाँदै गरेको नम्बर नखुलेको नयाँ ट्याक्टर र नरैनापुरबाट राधाकृष्ण चोकतर्फ आउँदै गरेको अर्जुन सवार मोटरसाइकल बेलोनिया चोकमा ठोक्किँदा अर्जुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।
Advertisement 3

प्रहरीका अनुसार, दुर्घटनामा संलग्न मोटरसाइकल र ट्याक्टर दुवै नयाँ थिए। मृतक अर्जुनको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ। दुर्घटनामा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा भए पनि चालक भने फरार छन्। प्रहरीले चालकको पहिचान खुलिसकेको र छिट्टै पक्राउ गरिने जनाएको छ।

पीडित परिवारले विवाहको सम्पूर्ण तयारी भइसकेको अवस्थामा यस्तो दु:खद घटना हुँदा मानसिक र आर्थिक रूपमा ठूलो क्षति बेहोर्नु परेको भन्दै विवाह खर्चसहितको क्षतिपूर्तिको माग गरेका छन्।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण बेहुला गुमाएको परिवारलाई न्याय दिलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आश्वासन प्रहरीले दिएको छ।










प्रतिक्रिया