नेपालगन्ज, जेठ २ : बाँके जिल्लाबाट यस वर्ष साउदी अरेबियास्थित मक्का-मदिनामा हज गर्न १५५ जना मुस्लिम धर्मावलम्बी जाने भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार हजमा जान लागेकामध्ये ७६ जना महिला र ७९ जना पुरुष रहेका छन्।
हज इस्लाम धर्मका पाँच प्रमुख स्तम्भमध्ये एक मानिन्छ र आर्थिक रूपले सक्षम मुस्लिमले जीवनमा कम्तीमा एकपटक अनिवार्य रूपमा हज गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ।

नेपालगन्जका हजयात्रीलाई शुभकामना दिएर बिदाइ हुँदै ।
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार, हज समितिको कार्यतालिका अनुसार बाँकेका हजयात्रीहरू काठमाडौँबाट जेठ ५ गते साउदीका लागि हवाई उडान गर्नेछन्। त्यसअनुसार समितिले सबै हजयात्रीहरूलाई जेठ ३ गतेसम्म काठमाडौं आइपुग्न अनुरोध गरेको छ।
हाल हजयात्रामा जान लागेकाहरूलाई विभिन्न सामाजिक संस्था, राजनीतिक दल, वडा कार्यालय, तथा आफन्तजनले बिदाई कार्यक्रम तथा शुभकामना दिइरहेका छन्। हज समितिका केन्द्रीय सदस्य अलिम हलवाईका अनुसार नेपालगन्जबाट जाने हजयात्रीहरूलाई पेसागत संघसंस्थाहरूले समेत शुभकामना व्यक्त गरिरहेका छन्।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले हज यात्राको सफलताको कामना गर्दै यसको आध्यात्मिक महत्व र सामाजिक सद्भाव मजबुत बनाउन यो यात्रा महत्वपूर्ण रहेको बताए।
केन्द्रीय हज समितिका अनुसार यस वर्ष नेपालभरबाट दुई हजारभन्दा बढीले हजका लागि आवेदन दिएका थिए। तर, ११ उडानमार्फत १,१७१ जनालाई मात्र हजको अनुमति दिइएको छ। पहिलो चरणमा जेठ ३ गते ५५ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र दुई जना हज समितिका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी प्रस्थान गर्नेछन्। दोस्रो चरणमा जेठ ४ गते ११८ जना हजयात्री साउदी जाने छन्। यस्तै, जेठ ५, ६, ७ र ८ गते थप हजयात्रीहरू प्रस्थान गर्ने कार्यतालिका छ।
साउदीस्थित नेपाली दूतावासले हज अवधिभर हजयात्रीहरूको स्वागत, सहजीकरण र सुरक्षाका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ। पहिलो चरणका यात्रुहरूको स्वागत गर्न नेपाली राजदूत डा. नरेश विक्रम ढकाल, वाणिज्यदूत सिर्जना अधिकारी तथा अन्य निकायका प्रतिनिधिहरू विमानस्थलमा उपस्थित रहनेछन्।
यस वर्ष विश्वभरबाट अनुमानित २८ लाखभन्दा बढी मुस्लिम धर्मावलम्बी हजमा सहभागी हुने अनुमान गरिएको छ। साउदी सरकारले हज अवधिमा अनुमतिपत्र बिना हज गर्न खोज्नेहरूलाई एक लाख रियालसम्म जरिवाना, देश निकाला तथा दस वर्षसम्म प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ।
यस वर्ष नेपाली हजयात्रीहरूले प्रति व्यक्ति रू. ३ लाख ७० हजार तिरेर हज गर्न लागेका हुन्। उनीहरू हज सम्पन्न गरेर असार ६ देखि ११ गतेभित्र स्वदेश फर्किने कार्यक्रम रहेको छ।










