सन्देश भुसाल, नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खगेन्द्रप्रसाद रिजालले कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यलाई आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। उनले प्रमाणसहित आरोप पुष्टि गर्न आग्रह गरेका छन्, अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
हिजोमात्र गृहमन्त्रालयमा सरुवा भएका प्रजिअ रिजाललाई मेयर आचार्यले नैतिक रूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए। रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदाबाजी गरेको मेयर आचार्यको आरोप छ।
मेयर आचार्यको स्टाटसलाई लिएर नेपालगञ्ज पोस्टसँग कुरा गर्दै प्रजिअ रिजालले मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको प्रतिक्रिया दिए। ‘उसले भनेको स्कूलमा सेन्टर परेन। उसको स्वार्थ पूरा भएन। त्यसैले फेसबुकमा लेखेको हो,’ रिजालले भने।
‘मैले मेयरलाई प्रमाण लिएर आइज भनिसकेको छु। यदि उसले प्रमाण ल्याउन सकेन भने कानुनी कारवाही गर्छु,’ प्रजिअ रिजालले भने। सहसचिव रिजाल निजामतीमा अहिलेसम्म आर्थिक रूपमा कतै विवादमा नपरेका, पारदर्शी र स्वच्छ छविका प्रशासक भनेर चिनिन्छन्।
स्रोतका अनुसार, कांग्रेसबाट मेयर जितेका आचार्यले आफूले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि रिजालको चरित्र हत्या गरेको हो।











