सन्देश भुसाल,नेपालगन्ज : नेपाली चलचित्र प्रेमीहरूका लागि प्रतीक्षित चलचित्र ‘लाज शरणम्’ आज महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ। हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको यो चलचित्रलाई दर्शकबाट अत्यधिक राम्रो प्रतिक्रिया मिलिरहेको छ। अग्रिम बुकिङकै क्रममा दर्शकको ठूलो उत्साह देखिएकाले देशभरका धेरै सिनेमाघरमा शोहरू हाउसफुल भएका छन्।
Advertisement 1
नेपालगन्जमा यो चलचित्र सिने रोयल मा ५ शो र क्यु एफ एक्स सिनेमाज मा ३ शो सहित ८ शो मा प्रदर्शन भइरहेको छ। सिने रोयल मा बिहानको पहिलो शोबाटै हाउसफुल देखिएको छ भने क्यु एफ एक्स सिनेमाज मा पनि दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ। चलचित्रको माग बढ्दै गएपछि सिनेमाघरहरूले थप शो राख्ने तयारी गरिरहेका छन्।
Advertisement 2
चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन् भने कुमार कट्टेल ले निर्देशन गरेका छन्। यस चलचित्रमा विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोच), प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूको अभिनय रहेको छ।
Advertisement 3
जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा रहेका छन्। चलचित्रमा उत्कृष्ट कथावस्तु, दमदार अभिनय र मन छुने संवाद रहेको दर्शकहरूको प्रतिक्रिया छ।
महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएको ‘लाज शरणम्’ प्रति दर्शकको ठूलो उत्साह देखिएको छ। हलहरू हाउसफुल हुनुले नेपाली चलचित्रको लोकप्रियता अझै बढ्दै गएको संकेत गर्छ। चलचित्रको पहिलो दिनको व्यापार हेर्दा यसले राम्रो व्यावसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ।
नेपालगन्जलगायत देशभरका दर्शकबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको ‘लाज शरणम्’ ले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।











