
सन्देश भुसाल , नेपालगञ्ज : आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरूमा भगवान शिवको पूजा–अर्चना गरी व्रत समापन गरिएको छ। बाँकेको नेपालगञ्जस्थित बागेश्वरी जुंगेश्वर महादेव, बर्दियाको बाँसगाडी नगरपालिकास्थित केदारेश्वर धाम, राप्तीपारीको सन्तानेश्वर महादेवलगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको आगमन भइरहेको छ।
Advertisement 1
हिन्दू धर्मअनुसार साउनको सोमबार भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन महिलाले हरियो बस्त्र, चुरा, पोते, मेहन्दी लगाएर ब्रत बस्ने गर्छन्। विवाहित महिलाले श्रीमानको दीर्घायु र अटल सौभाग्यका लागि, अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनासहित पूजा गर्दछन्।
Advertisement 2
काठमाडौंको पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट ल्याएको पवित्र जल चढाउने बोलबम तीर्थालुहरूको बिहानैदेखि लामो लाइन लागेको छ। भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी, पिण्डेश्वर, गलेश्वर, कुशेश्वर, गुप्तेश्वर, कपिलेश्वर, सिरेश्वर, देवघाटलगायत देशभरका प्रमुख शिवालयहरूमा पनि भक्तजनको घुइँचो देखिएको छ।
Advertisement 3
यस वर्ष साउनमा पाँचवटा सोमबार परेका थिए। पहिलो सोमबारदेखि व्रत बसेका भक्तजनहरूले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गरेका छन्। धेरै स्थानमा भजन–कीर्तन, नाचगान र दान–पुण्यका कार्यक्रमहरू पनि आयोजना गरिएको छ।
भक्तजनहरूका अनुसार साउने सोमबारको व्रत र पूजा–अर्चनाले मनोकांक्षा पूरा हुने, सुख–शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास रहिआएको छ ।