नेपालगञ्ज पोष्ट
Advertisement 1
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ अन्तर्गत आयोजित अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फिनालेमा १० जना प्रतिस्पर्धी छनोट भएका छन्।

Advertisement 2
महोत्सवका सांस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शनिबार पाँच र आइतबार पाँच जना गरी कुल १० जना फिनालेमा प्रवेश गरेका हुन्। प्रतियोगिताको प्रारम्भिक चरणमा जिल्लाका ३५ जनाले सहभागिता जनाएका थिए। माघ १६–१८ गतेसम्म शीर्ष २० जनाको छनोट गरिएको थियो भने माघ १९ र २० गते सेमिफिनाले हुँदै शीर्ष १४ प्रतिस्पर्धीबाट उत्कृष्ट १० जना छनोट भएका हुन्।
Advertisement 3
फिनालेमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा युनाइटेड एजुकेशनल एकेडेमीका ग्रीष्मा राना क्षेत्री, सुदीप परियार र स्नेह गुरुङ छन्। त्यस्तै, धर्ती विष्ट मगर (गोरखा युनाइटेड पब्लिक स्कुल, कोहलपुर), सुस्मिता शर्मा (फ्लोरिड एकेडेमी, डुडुवा ५ कम्दी), संस्कृति शर्मा (जनसेवा माध्यमिक विद्यालय, जानकी–३), प्राप्ती गुरुङ (जेनिथ एकेडेमी, खजुरा ३), सुमित्रा राना मगर (ज्ञानोदय नमुना मावि, खजुरा) र राधा बस्नेत (मोडेल एकेडेमी, नेपालगन्ज १८ तेजनगर) रहेका छन्।
प्रतियोगिताको ग्रान्ड फिनाले माघ २२ गते हुनेछ। विजेताले क्रमशः रु. ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। फिनालेमा प्रवेश गरेका अन्य सात जनाले जनही रु. ५ हजार नगद र प्रमाणपत्र पाउनेछन्।
महोत्सवको ११औं दिन आज चर्चित गायक खुमन अधिकारीले प्रस्तुति दिँदा दर्शक झुमेका थिए। उनले आधा दर्जन बढी लोकप्रिय गीत गाएका थिए। साथै, गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, नृत्यांगना अस्मिता पुरी लगायतका कलाकारले समेत प्रस्तुति दिए।
हुम्लाका कलाकारहरूले कर्णाली प्रदेशको प्रसिद्ध डेउडा संस्कृति झल्काउने प्रस्तुति दिएका थिए। महोत्सवमा हरेक दिन स्थानीय कलाकारहरूले सांस्कृतिक पहिचान झल्कने नृत्य प्रस्तुत गरिरहेका छन् भने राष्ट्रिय कलाकारहरू पनि आकर्षणको केन्द्र बनेका छन्।

महोत्सव सांस्कृतिक उपसमितिका संयोजक मख्खन धामीका अनुसार १२औं दिन भोली गायक शिव परियार, एञ्जिला रेग्मी, लक्ष्मी आचार्य तथा हास्य कलाकारद्वय शिवशंकर रिजाल (जोगिन्दर) र सुरेन्द्र केसी (मुला साग) को प्रस्तुति रहनेछ।
प्रादेशिक महोत्सवका प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दले मेला अवधि सकिन लागेकाले सबै बाँकेवासीलाई सहभागी भई मनोरञ्जन लिन आग्रह गरेका छन्।










प्रतिक्रिया