दाङ, तुलसीपुर : तुलसीपुरको व्यस्त बजारमा दिनदहाडै एकजना शिक्षक लुटिएका छन्। सल्यान स्थायी घर भई हाल तुलसीपुरको टरिगाउँमा बस्दै आएका तथा तुलसीपुरको सप्तरंगी बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका शिक्षक टोपलाल बिक युवाहरूको समूहद्वारा लुटिएका हुन्।
Advertisement 1
टोपलाल बिकले टरिगाउँबाट विद्यालयतर्फ पैदल जाँदै गर्दा बाहिनि अड्डा नजिकै उनीमाथि लुटपाट भएको बताएका छन्। घटनाबारे विवरण दिंदै उनले भने, “बिहान करिब साढे ९ बजेको थियो। स्कुलतर्फ जाँदै गर्दा पछाडिबाट ‘रोक’ भन्ने आवाज आयो। फर्केर हेर्दा दुई जना अलिक पर थिए, र तीन जना केटाहरू मेरो नजिक आए। उनीहरूले ‘पैसा निकाल’ भने, तर मैले पैसा नभएको बताएँ। त्यसपछि एकजनाले चक्कु निकाल्यो, र अर्कोले मेरो गोजीबाट ५ हजार रुपैयाँ निकालेर भागे।”
Advertisement 2
चक्कु देखाएर धम्क्याउँदा ज्यान नै खतरामा पर्ने देखेपछि आफू निकै आत्तिएको र केही गर्न नसकेको बिकले बताए। घटना भएको केही समयसम्म आफैंलाई होश नआएको पनि उनले उल्लेख गरे।
Advertisement 3
यता, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले घटनाबारे प्रहरीमा औपचारिक जानकारी नआएको बताए। “पीडितलाई कार्यालयमा पठाईदिनुहोस्। घटनाबारे बुझेर आवश्यक खोजतलास र कारबाही प्रक्रिया अघि बढाइनेछ,” डीएसपी ठकुरीले भने।
लुटपाट गर्ने समूहको पहिचान र खोजी कार्यका लागि प्रहरी सक्रिय भएको छ। स्थानीयबासीले तुलसीपुरको सुरक्षा व्यवस्थामा थप ध्यान दिन माग गरेका छन्।










प्रतिक्रिया