गुल्मी र वीरगञ्जमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ।
Advertisement 1
गुल्मी: गुल्मीको इश्मा गाउँपालिका–५ रातामाटामा बुटवलदेखि अर्खाबाङ जाँदै गरेको लु १ ख ५७३६ नम्बरको यात्रुवाहक बसबाट खसेर ३९ वर्षीया शान्ति कुमालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, तम्घास–सिमलटारी सडकखण्डको रोदी क्षेत्रमा ओर्लन लाग्दा भाडासम्बन्धी विवादको क्रममा चलिरहेको बसमा झुन्डिँदा कुमाल बसबाट खसेकी थिइन्। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि गुल्मी अस्पताल पुर्याइएको थियो, तर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक राजन भुजेलको नेतृत्वमा ९ जनाको टोली खटाइएको छ।
Advertisement 2
वीरगञ्ज : वीरगञ्जमा भने तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको स्कुल बसको ठक्करबाट साइकल यात्रु ४५ वर्षीय तैयामोदिन मिया अन्सारीको मृत्यु भएको छ। बाराको फेटा गाउँपालिका–५ निवासी अन्सारीलाई वीरगञ्ज महानगरपालिका बाइपास क्षेत्रमा बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
Advertisement 3
पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टका अनुसार ठक्कर दिने बस र चालक देवा पासवानलाई नियन्त्रणमा लिइएको छ। घटनाको विषयमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
यी दुइ घटनाले सवारीसाधनको सुरक्षाका साथै यात्रु र चालकबीचको जिम्मेवारीप्रतिको गम्भीरता झल्काएको छ। दुवै घटनाको अनुसन्धान जारी रहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन्।










प्रतिक्रिया