कोहलपुर : बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेश सरकारले स्थापना गर्न लागेको यातायात सेवा कार्यालय उद्घाटनको तयारी तीव्र भएको छ। गत मंसिर १६ गते प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। त्यसको एक महिनापछि कार्यालय उद्घाटन गरी औपचारिक रूपमा सेवा सुरु गर्ने तयारी भइरहेको छ।
Advertisement 1
यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख लोकबहादुर सुनारका अनुसार कोहलपुरमा कार्यालय सञ्चालनका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ। उनले सोमबार कोहलपुरको कार्यालय स्थानमा पुगेर तयारीको अवस्थाबारे जानकारी लिएको बताए। “कार्यालय सञ्चालनका लागि उपयुक्त स्थानमा मर्मत, रङरोगन र प्राविधिक व्यवस्थापनको काम भइरहेको छ,” उनले भने।
Advertisement 2
कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने डिभाइसको खरिद प्रक्रिया पनि अगाडि बढाइएको छ। प्रमुख सुनारका अनुसार उक्त मेसिन १ लाख ५० हजार रुपैयाँ पर्नेछ र खरिद प्रक्रिया सकिएपछि कार्यालय उद्घाटनको मिति तोकिनेछ।
Advertisement 3
कोहलपुरस्थित कार्यालयमा चार जना कर्मचारी खटाइने तयारी भएको छ। जसमा एक जना अधिकृत, कम्प्युटर अपरेटर, लेखा सहायक, र एक जना कार्यालय सहयोगी हुनेछन्। सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताब नवीकरण, र अन्य पटके सेवा प्रदान गर्ने योजना रहेको सुनारले जानकारी दिए।
कोहलपुर नगरपालिकाले पनि कार्यालय उद्घाटनका लागि आवश्यक सरसफाइ र व्यवस्थापनको काम गरिरहेको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार नगर प्रहरीले कार्यालयको सरसफाइ र उद्घाटनका लागि सहयोग गरिरहेको छ।
यस कार्यालयको स्थापना पछि कोहलपुर तथा आसपासका नागरिकले यातायात सेवा लिन सहज हुनेछ।










प्रतिक्रिया