नेपालगञ्ज : सुदूरपश्चिमको मौलिक संस्कार र सभ्यतासँग सम्बन्धित ‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले कडा आपत्ति जनाउँदै तुरुन्त रोक लगाउन माग गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंहद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा काली-कर्णाली क्षेत्रका मौलिक परम्परा, संस्कृति र सभ्यतालाई अपहेलित गर्ने कार्यप्रति गम्भीर आपत्ति व्यक्त गरिएको छ।

 

सुदूरपश्चिम प्रदेशमा मान्यजनप्रति सम्मान प्रकट गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आशीर्वाद लिने कार्यलाई ‘ढोग दिने’ भनिन्छ। यो कार्य क्षेत्रीय पहिचान र सभ्यतासँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण पक्ष हो। तर, हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘ढोग दिया’ शब्दलाई असान्दर्भिक र मनोरञ्जनका लागि दुरुपयोग गरिएको प्रतिष्ठानको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो परम्परा, मौलिकता, सत्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई खिल्ली उडाउने र अपहेलना गर्ने कार्यले सुदूरपश्चिमको सांस्कृतिक पहिचानमा आघात पुर्याएको छ। यस्ता कार्य तत्काल रोक्न सम्बन्धित पक्षले कदम चाल्न आवश्यक छ।”

 

प्रकाशित विज्ञप्तिमा ‘ढोग दिया’ जस्ता शब्दको दुरुपयोगले क्षेत्रीय संस्कृतिमा पर्न सक्ने नकारात्मक प्रभावबारे सचेत गराइएको छ। यस प्रकारको अपमानजनक व्यवहारले समाजमा भ्रम र असन्तुष्टि फैलाउने खतरा रहेको उल्लेख गर्दै प्रतिष्ठानले यसबारे सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट व्यापक ध्यानाकर्षण गराएको छ।

 

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले सुदूरपश्चिमका मौलिक परम्परा र सभ्यता जोगाउन सबैलाई जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गरेको छ।

 

Leave a Reply

error: Content is protected !!