नेपालगञ्ज : बाँकेको खजुरामा रहेको जनता सन्तकुटी माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भको सौन्दर्यकरणका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
Advertisement 1
समाजले देउसी भैलो कार्यक्रमबाट संकलन गरेको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केरसिंह थापालाई एक समारोहबीच हस्तान्तरण गरेको हो। समाजका अध्यक्ष झविलाल शर्माले शुक्रबार उक्त रकम हस्तान्तरण गर्दै विद्यालयको समग्र विकासमा समाजले निरन्तर साथ दिँदै आएको बताए।
Advertisement 2

समाजका सचिव इन्जिनियर बिवेक लामिछानेका अनुसार विद्यालयको स्वर्णजयन्तिको अवसरमा निर्माण गरिएको स्तम्भलाई थप आकर्षक बनाउन उक्त रकम खर्च गरिनेछ। समाजले यसअघि पनि विद्यालय र समुदायलाई केन्द्रित गर्दै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ सामग्री हस्तान्तरण, उत्कृष्ट विद्यार्थी र पूर्वप्रधानाध्यापक सम्मानजस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको छ।
Advertisement 3

खजुरा गाउँपालिका-३ मा २०२९ सालमा स्थापना भएको जनता सन्तकुटी माविका पूर्वविद्यार्थीहरूले ८ असोज २०७९ मा सम्पन्न भेलाबाट तदर्थ समिति गठन गरेका थिए। २७ फागुन २०७९ मा सम्पन्न पहिलो अधिवेशनले झविलाल शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो।
समाजले २१ माघ २०७९ मा ५१० जनाको स्वास्थ्य परीक्षण सहितको शिविर आयोजना गर्नुका साथै विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण, कार्यालय स्थापना, विद्यार्थी उत्प्रेरणा कार्यक्रम, खेलकुद, र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
समाजका सदस्य सचिव टंकनाथ दाहालका अनुसार विद्यालय र समुदायलाई जोड्ने यस्तो प्रयासले अन्य विद्यालयलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।










