नेपालगञ्ज। पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पतालमा करिब दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान (CT Scan) सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। प्राविधिक समस्या समाधान भएपछि अस्पतालले सेवा पुनः सुचारु गरेको हो।
Advertisement 1

अस्पतालका अनुसार सिटी स्क्यान मेसिनको ट्युबमा आएको खराबीका कारण लामो समयदेखि सेवा बन्द थियो। आवश्यक मर्मत तथा नयाँ प्रविधिको व्यवस्थापनपछि अहिले सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको छ।
Advertisement 2
अब विशेषज्ञ चिकित्सकको सिफारिसमा बिरामीहरूले भेरी अस्पतालबाटै सुरक्षित, भरपर्दो र गुणस्तरीय सिटी स्क्यान सेवा प्राप्त गर्न सक्नेछन्। सेवा बन्द हुँदा बाँकेसहित आसपासका जिल्लाका बिरामीहरू निजी स्वास्थ्य संस्था वा अन्य शहरका अस्पतालमा पुगेर महँगो शुल्क तिर्न बाध्य थिए। सेवा पुनः सञ्चालनमा आएपछि बिरामीको आर्थिक भार कम हुनुका साथै समयको समेत बचत हुने अपेक्षा गरिएको छ।
Advertisement 3
अस्पतालले सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि रोगको समयमै पहिचान गर्न र उपचार प्रक्रिया प्रभावकारी बनाउन चिकित्सक तथा बिरामी दुवैलाई सहज हुने जनाएको छ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले अस्पतालमा आउने बिरामीको चाप र स्वास्थ्य सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार अस्पताललाई थप आधुनिक, प्रभावकारी र बिरामीमैत्री बनाउने प्रयास निरन्तर जारी रहनेछ।
सिटी स्क्यान सेवा पुनः सञ्चालन भएसँगै बाँके, बर्दिया लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास अस्पतालले व्यक्त गरेको छ।











