नेपालगञ्ज, साउन १८। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि नेपाल आयल निगमले तत्काल उपभोक्तामाथि मूल्यवृद्धिको भार नपार्ने निर्णय गरेको छ।
Advertisement 1

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (IOC) बाट २०८३ साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. २.१९, डिजेलमा रु. ३.६७ र हवाई इन्धनमा रु. १९.०८ ले लागत बढेको छ। तर उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साउन १८ गते बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको जनाएको छ।
Advertisement 2
हाल पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः रु. १९७.५०, रु. १९९.०० र रु. २००.०० प्रति लिटर कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य पनि क्रमशः रु. १९७.५०, रु. १९९.०० र रु. २००.०० प्रति लिटर यथावत रहनेछ।
Advertisement 3
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु. २४९ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि गरिएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेकइभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
एलपी ग्यासको मूल्य भने १४.२ किलोग्रामको सिलिन्डरमा रु. २,०६० नै यथावत राखिएको छ।
निगमका अनुसार मूल्य समायोजन नगर्दा पनि मासिक करिब रु. १ अर्ब १४ करोड घाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र उतारचढावका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न समेत आग्रह गरेको छ।











