नेपालगञ्ज पोष्ट । नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको विवादित प्रमोसनल गीत ‘म्याथ सिक्ने भए…’ अन्ततः युट्युब तथा अन्य सामाजिक सञ्जालबाट हटाइएको छ।
Advertisement 1
गायक दुर्गेश थापा र चलचित्र निर्माण कम्पनी आयंका फिल्मस् प्रालि ले शुक्रबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गीत हटाइएको जानकारी दिएका हुन्। साथै, गीतका केही शब्द र प्रस्तुतिका कारण शिक्षक–शिक्षिका, गुरुजन तथा दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
Advertisement 2

दुर्गेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त गीतका केही शब्द तथा प्रस्तुतीकरणका कारण आदरणीय दर्शक, शिक्षक–शिक्षिका तथा गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं। त्यसप्रति म तथा सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु।”
Advertisement 3

त्यसैगरी, चलचित्रकी निर्माता तथा अभिनेत्री प्रियंका कार्की ले उक्त गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचार–प्रसारका लागि मात्र तयार गरिएको स्पष्ट पारेकी छन्। उनले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित शिक्षक–शिक्षिका पेसाको गरिमामा आँच पुर्याउने कुनै मनसाय नरहेको उल्लेख गर्दै अन्जानमै भावनामा चोट पुगेकोप्रति क्षमा मागेकी छन्।
प्रियंकाले विज्ञप्तिमा भनेकी छन्, “हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु।”
गत मंगलबार सार्वजनिक गरिएको उक्त गीत सार्वजनिक भएलगत्तै यसको शब्द, दृश्य र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। युट्युबमा आएका हजारौं प्रतिक्रियामा शिक्षकजस्तो सम्मानित पेसालाई द्विअर्थी र अशोभनीय शैलीमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो।
यसैबीच, नेपाल शिक्षक महासंघ ले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतले शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामा गम्भीर आघात पुर्याएको भन्दै तत्काल प्रचार–प्रसार बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न माग गरेको थियो। महासंघले गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी निर्माण पक्षले नै लिनुपर्ने चेतावनीसमेत दिएको थियो।
व्यापक विवाद र आलोचनापछि निर्माण पक्षले अन्ततः गीत हटाउने निर्णय गर्दै सार्वजनिक रूपमा माफी मागेको हो।
प्रियंका कार्कीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।











