Listen LIVE

बाँके : धान खेतीको उत्पादकत्व बढ्दा मुलुकमा धान उत्पादन बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा गत आवभन्दा ४.०४ प्रतिशतले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

Advertisement 1

मन्त्रालयका अनुसार चालु आव धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन हुने प्रारम्भिक अनुमानले देखाएको छ । गत आव धानको कुल उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन थियो ।

गत आर्थिक वर्ष वर्षे धान ५२ लाख ३ हजार ४ सय २६ टन उत्पादन भएकोमा यो वर्ष ५४ लाख ११ हजार ८३ टन पुगेको छ । यस्तै चैते धान ५ लाख २० हजार ८ सय ८ टन उत्पादन भएको थियो भने यो आवमा ५ लाख ४४ हजार ३ सय ९३ टन उत्पादन भएको हो ।

Advertisement 2

धान बाली हुने क्षेत्रफलमा कमी आउँदा पनि उत्पादकत्वमा सकारात्मक वृद्वि देखिएको हो । वर्षे र चैते दुवै गरी चालु आव कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान कायम भएको थियो । जुन गत आवको तुलनामा १.२८ प्रतिशतले कम हो ।

कृषि मन्त्रालयका अनुसार औसत उत्पादकत्व ४.१९ टन प्रतिहेक्टर पुगेको छ । यो हालसम्मको उच्च बिन्दु हो ।

Advertisement 3

लुम्बिनी र मधेशले बढायो धानको कुल उत्पादन

प्रदेशगत हेर्दा यो वर्ष मधेश, लुम्बिनी र कोसी प्रदेशका कारण कुल राष्ट्रिय उत्पादनमा वृद्धि भएको देखिन्छ । कोसीमा यो वर्ष १४ लाख ६६ हजार ५ सय १८ टन अर्थात् गत वर्षभन्दा २.१६ प्रतिशतले धान उत्पादन बढेको छ ।

गत वर्ष १४ लाख ३५ हजार ५ सय ७८ टन उत्पादन भएको थियो । मधेशमा पनि यो वर्ष उत्पादन ह्वात्तै बढेको छ । गत वर्ष १३ लाख ३७ हजार ६ सय ७२ टन उत्पादन भएको थियो । यो वर्ष १०.७० प्रतिशत बढेर १४ लाख ८० हजार ८ सय ३० टन पुगेको छ ।

असोजको दोस्रो साता आएको बाढीका कारण बागमतीको धान उत्पादन भने कमी आएको छ । बागमतीमा ४ लाख ९८ हजार ६ सय ६२ टन उत्पादन भएको छ, जबकि गत वर्ष ५ लाख ४ हजार ३ सय ४४ टन धान उत्पादन भएको थियो ।

“धान उत्पादनमा वृद्धि: बाँकेमा यस वर्ष ४.२४ प्रतिशतले धान रोपाइँ बढ्यो

बागमतीमा १.१३ प्रतिशतले उत्पादन घटेको हो । गण्डकीमा पनि उत्पादन घटेको छ । गत वर्ष ३ लाख ९१ हजार ६ सय २४ टन धान उत्पादन हुँदा यो वर्ष घटेर ३ लाख ७९ हजार ३२ टन उत्पादन भएको हो ।

लुम्बिनीमा भने धान उत्पादन बढेर लुम्बिनी १३ लाख ६४ हजार ३१ टन उत्पादन भएको छ । गत वर्ष १३ लाख १० हजार ८ सय २९ टन उत्पादन थियो । जुन यो वर्ष ४.०६ प्रतिशतले घटेको हो ।

यस्तै कर्णालीमा धान उत्पादन स्वाट्टै घटेको छ । गत वर्ष १ लाख ४५ हजार ६३ टन उत्पादन भएकोमा यो वर्ष १०.२५ प्रतिशतले घटेर कर्णालीमा १ लाख ३० हजार १ सय ९१ टनमात्र उत्पादन भएको हो । सुदूरपश्चिम प्रदेशमा भने धान उत्पादन ६.१९ प्रतिशतले बढेर ६ लाख ३६ हजार २ सय १२ टन पुगेको छ । गत वर्ष ५ लाख ९९ हजार १ सय २४ टन उत्पादन भएको थियो ।

किन बढ्यो उत्पादकत्व ?

मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यका अनुसार चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुँदा धान उत्पादकत्व बढेको हो ।

‘धान सिजनमा औसत वर्षा गत वर्षभन्दा उच्च रहन जाँदा वर्षे धान बालीका लागि सहयोगीसिद्ध हुन पुगेको छ,’ मन्त्रालयले सार्वजनिक गरेको कारणमा उल्लेख छ ।

यस्तै रासायनिक मल र उन्नत जातको धान आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्वि हुनु पनि धान उत्पादनका लागि प्रभावकारी रहन गएको छ ।

मन्त्रालयका अनुसार प्रदेशगत हेर्दा कोसी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा कुल धान उत्पादनमा वृद्वि भए पनि बागमती, कर्णाली र गण्डकीमा उत्पादन घटेको देखिन्छ ।

रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णालीको उत्पादनमा कमी आएको छ । यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमी आउँदा र लमजुङमा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादन घटेको छ ।

प्रवक्ता वैद्यले असोज दोस्रो साता आएको बाढीले क्षति नभएको भए धानको उत्पादन अझै बढ्न सक्ने बताइन् । ‘असोजमा बाढी पहिरोले असर नगरेको भए बागमती प्रदेश सहित अन्य प्रदेशको धान उत्पादन ऋणात्मक नहुन सक्थ्यो । तर, बाढीका कारण पहाडी खेतमा क्षति पुगेर केही उत्पादन अझै कम भयो । नत्र, धान उत्पादन अहिलेभन्दा बढ्न सक्थ्यो,’ वैद्यले अनलाइनखबरसँग भनिन् ।

मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार नेपालमा सबै उपयोगिताका लागि करिब ८० लाख टन धान आवश्यक पर्छ । जसमा मुख्य गरेर मानिसले खाने खानाका लागि ६९ लाख टन धान आवश्यक पर्छ । यस्तै मदिराजन्य प्रयोग र पशुपन्छीको दानाको लागि बाँकी धान उपयोग हुने बताए ।

घट्दै छ क्षेत्रफल

धान उत्पादन बढेको तथ्यांक सार्वजनिक भइरहँदा धान खेती हुने क्षेत्रफल भने घटिरहेको छ । धान उत्पादकत्व बढ्दा धान धेरै फले पनि क्षेत्रफल निरन्तर खुम्चिरहेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता वैधले पछिल्लो समय धान उत्पादन बढ्दा उत्साहित भए पनि धान खेती हुने क्षेत्रफल घट्दा चिन्तित हुनुपर्ने स्थिति रहेको बताइन् ।

‘उत्पादकत्व बढ्नु त राम्रो कुरा हो तर सहरी क्षेत्रको खेती मासिँदा, नदी कटान बढ्दा र एकीकृत खेती नहुँदा धान खेती हुने क्षेत्रफल घटिरहेको छ । यसतर्फ मन्त्रालय पनि गम्भीर छ, सरोकारवाला निकाय पनि सचेत हुनुपर्ने देखिन्छ,’ वैद्यले भनिन् ।

उनले भने जस्तै सरकारी तथ्यांकले पनि क्षेत्रफल घटेको देखिन्छ । गत आव १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा कुल धान खेती हुँदा यो वर्ष १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा मात्रै खेती भएको हो । जुन १.२८ प्रतिशतले कमी हो । कोसी प्रदेशमा बाहेक सबै प्रदेशमा धान खेती हुने क्षेत्रफल घटेको तथ्यांकले देखाएको छ ।

कसरी लिइयो तथ्यांक ?

कृषि मन्त्रालयले ‘सेटेलाइट इमेज र रिमोट सेन्सिङ’ को प्रयोगबाट नतिजा लिएको हो । प्रादेशिक मन्त्रालयहरूबाट प्राप्त जिल्लागत धान बाली सम्बन्धी आँकडा, यस वर्षको तराईका २१ जिल्लामा लगाइएको वर्षे धान बाली क्षेत्रफल आँकडा, जल तथा मौसम विज्ञान विभागबाट प्रकाशित मनसुन अवधिमा भएको वर्षाको विवरण, वर्षे धानको रोपाइँ विवरण, रासायानिक मल उपलब्धता, रोग तथा किरा प्रकोप, असोजमा भएको बाढीबाट धान बालीमा परेको असर, उन्नत बीउ आयात विवरण, बाली कटानीबाट प्राप्त विवरणबाट नतिजाको तथ्यांक लिइएको हो ।

यीसँगै मन्त्रालयले २५ देखि २७ मंसिरसम्म सात प्रदेशका प्रतिनिधिको उपस्थितिमा सम्पन्न कृषि तथ्यांक प्रमाणीकरण कार्याशालाबाट प्राप्त नतिजाका अधारमा चालु आवको धान बालीको उत्पादन सम्बन्धी अनुमान तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!