Listen LIVE

नेपालगञ्ज, साउन १। आज साउने (कर्कट) संक्रान्ति पर्व देशभर स्नान, दान, शिवपूजा तथा आफन्तसँग जमघट गरी हर्षोल्लासका साथ मनाइँदै छ। सौर पात्रोअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाइने प्राचीन परम्परा रहेको छ। आजैदेखि दक्षिणायनको पनि सुरुवात हुने धार्मिक विश्वास छ।

Advertisement 1

 

साउन महिना भगवान् शिवको विशेष आराधनाको महिना मानिने भएकाले देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। बाँकेको बागेश्वरी मन्दिर, नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर, खजुराको शिव मन्दिर, बर्दियाको केदारेश्वर धाम, दाङको पाण्डवेश्वर महादेव मन्दिर लगायत स्थानीय शिवालयहरूमा पूजा, जलाभिषेक र दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

Advertisement 2

 

धार्मिक मान्यताअनुसार साउन महिनाभर विशेषगरी सोमबारका दिन भगवान् शिवको पूजा, व्रत र जलाभिषेक गर्ने परम्परा रहिआएको छ। महिलाहरूले हरियो चुरा, हरियो तथा रातो पहिरन र मेहन्दी लगाई शिवको आराधना गर्ने चलन पनि साउन महिनाको विशेष आकर्षणका रूपमा रहेको छ।

Advertisement 3

साउने संक्रान्तिसँगै नेपाली समाजमा ‘लुतो फाल्ने’ परम्परासमेत मनाइन्छ। असार महिनाभर रोपाइँ तथा खेतीपातीका क्रममा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन रहेको छ। यस क्रममा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने परम्परा पनि विभिन्न समुदायमा कायम छ।

 

धर्मशास्त्रविद्हरूका अनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दुवैलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ। असार महिनाभर कृषिकर्ममा व्यस्त रहने किसानहरू साउने संक्रान्तिका दिन परिवार र आफन्तसँग भेला भएर रमाइलो गर्ने परम्परा पनि रहिआएको छ।

 

यस अवसरमा देशभरका मन्दिर तथा शिवालयहरूमा बिहानैदेखि दर्शन, पूजा, अभिषेक र धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् भने भक्तजनले भगवान् शिवको आराधना गर्दै सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!