नेपालगञ्ज, असार १६ : देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहँदा विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको तुलनामा उत्तरतर्फ रहेको छ, जसको असर विशेषगरी पश्चिम नेपालमा बढी देखिएको छ।
Advertisement 1
सुदूरपश्चिम प्रदेशमा मध्यमदेखि धेरै भारी वर्षा भइरहेकामा कञ्चनपुर सबैभन्दा प्रभावित देखिएको छ। पछिल्लो तीन घन्टामा कञ्चनपुरको बेलौरीमा ९७.२ मिलिमिटर तथा कृष्णपुरमा ९५.८ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्ता वर्षा मापनहरू ‘धेरै भारी वर्षा’ श्रेणीमा पर्छन्। यसैगरी पर्सियामा ५५.६ मिलिमिटर र हनुमाननगरमा ४१.२ मिलिमिटर वर्षा भएको छ।
Advertisement 2
आज सोमबार दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहने मौसम विभागले जनाएको छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
Advertisement 3
देशको उच्च–पहाडी तथा हिमाली भेगहरूमा समेत हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागको भनाइ छ।
आज राति पनि देशभर सामान्य बदली हुने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ।
साथै, सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागमा राति पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
वर्षासँगै बाढी, पहिरो र डुबानको सम्भावना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले सबैलाई आग्रह गरेको छ।










प्रतिक्रिया