नेपालगञ्ज, असार १४ । नेपाली चलचित्र ‘लालीबजार’ सफल प्रदर्शनको ५१औँ दिन मा प्रवेश गरेको छ। २०८२ साल वैशाख १८ गते प्रदर्शनमा आएको यो चलचित्र प्रारम्भिक चरणमा प्रदर्शन मितिसम्बन्धी केही चुनौती सामना गरे पनि दर्शकको सकारात्मक प्रतिक्रिया, मुखैमुख प्रचार (Word of Mouth) र बलियो कथावस्तुका कारण अहिले पनि देशभरका हलहरूमा राम्रो उपस्थिति कायम राख्न सफल भएको छ।
Advertisement 1

Advertisement 2

शनिबार ५१ दिन पुगेको अवसरमा निर्माण टिमले केक काट्दै सफलता मनाएको छ। निर्देशक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा दर्शकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा निर्माण पक्षले सबैप्रति आभार व्यक्त गरेको छ।
Advertisement 3

कार्यकारी निर्माता प्रदीप भट्टराईले ५१ दिनको सफल यात्राका अवसरमा जारी सन्देशमा निर्माणदेखि प्रदर्शनसम्मको यात्रालाई सफल बनाउन साथ, माया, विश्वास र उत्साह प्रदान गर्ने सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, सञ्चारकर्मी, प्राविधिक तथा सिर्जनात्मक टिमप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उनले भनेका छन्, “तपाईंहरूको अमूल्य माया, विश्वास र निरन्तर समर्थनकै कारण ‘लालीबजार’ले ५१ दिनको ऐतिहासिक यात्रा तय गर्न सफल भएको हो। यो उपलब्धि सम्पूर्ण नेपाली चलचित्रप्रेमी दर्शकहरूको साझा सफलता हो। आगामी दिनमा पनि अझ उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता व्यक्त गर्दछौं।”
चलचित्र यम थापाको निर्देशनमा बनेको हो भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गरेका हुन्। चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समायरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, विशाल देवकोटा लगायत कलाकारहरूको अभिनय रहेको छ।
‘लालीबजार’ले नेपालको बादी समुदायको संघर्ष, सामाजिक विभेद, शोषण र अधिकारको विषयलाई केन्द्रमा राखेको छ। चलचित्रमा बादी समुदायकी महिला मधुवालाको जीवन संघर्षमार्फत समाजको यथार्थ चित्रण गरिएको छ। विशेषगरी छोरीको भविष्य सुरक्षित बनाउन आमाले गर्ने संघर्ष चलचित्रको मुख्य कथावस्तु हो।
चलचित्रको अधिकांश छायांकन बर्दिया र कैलाली जिल्लामा गरिएको हो। कथाले बर्दियाको राजापुर क्षेत्रलाई आधार बनाउँदै १९८६ देखि २००१ सम्मको समयलाई चित्रण गरेको छ।
चलचित्र प्रदर्शनअघि बादी समुदायका केही प्रतिनिधिहरूले कथावस्तु र केही दृश्यप्रति आपत्ति जनाएका थिए। त्यसपछि निर्माण पक्षले केही संवाद तथा दृश्यमा परिमार्जन गरेपछि धेरै दर्शक तथा समुदायका सदस्यहरूले चलचित्रको सकारात्मक सन्देशको प्रशंसा गरेका थिए।
व्यावसायिक रूपमा पनि चलचित्रले उल्लेखनीय सफलता हासिल गरिरहेको छ। निर्माण पक्षका अनुसार चलचित्रले नेपालसँगै विदेशमा पनि उत्साहजनक प्रतिक्रिया पाएको छ। हालसम्म ९ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै चलचित्र १० करोड क्लब नजिक पुगेको बताइएको छ।

सामाजिक यथार्थलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै व्यावसायिक सफलता पनि हासिल गर्न सफल ‘लालीबजार’लाई पछिल्ला वर्षहरूमा नेपाली चलचित्र उद्योगको उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ। विशेषगरी सामाजिक मुद्दामा आधारित चलचित्रले पनि दर्शकको मन जित्न सक्छ भन्ने उदाहरण ‘लालीबजार’ले प्रस्तुत गरेको चलचित्रकर्मीहरूको भनाइ छ।









