Listen LIVE

नेपालगञ्ज पोष्ट | बाँके, बाँकेको जानकी गाउँपालिका ले बेरोजगार महिलालाई लक्षित गरी सञ्चालन गरेको तालिम तथा रोजगारी प्रवर्द्धन कार्यक्रमको खर्च विवरणलाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेका छन्। महिला सशक्तीकरण, सीप विकास तथा रोजगारी सिर्जनाको उद्देश्यले सञ्चालन गरिएको भनिएको कार्यक्रमको प्रभावकारिता, खर्चको औचित्य तथा पारदर्शितामाथि स्थानीयवासी र सरोकारवालाले चासो व्यक्त गरेका छन्।

Advertisement 1

 

स्थानीयका अनुसार तालिम, गोष्ठी तथा सेमिनारका नाममा लाखौँ रुपैयाँ खर्च भएको देखिए पनि त्यसबाट प्राप्त उपलब्धि भने स्पष्ट रूपमा सार्वजनिक गरिएको छैन। तालिमपछि कति महिलाले रोजगारी पाए, कति सहभागी लाभान्वित भए तथा कार्यक्रमको वास्तविक नतिजा के रह्यो भन्ने विषयमा गाउँपालिकाले स्पष्ट जानकारी दिनुपर्ने माग उठिरहेको छ।

Advertisement 2

स्रोतका अनुसार गाउँपालिकाले गत चैत १ गतेदेखि २०८३ वैशाख १५ गतेसम्म सञ्चालन गरिएको तालिम कार्यक्रमका लागि नेपालगञ्जस्थित एक होटलको नाममा रु. २ लाख ८४ हजार ७ सय ६० खर्च भएको विवरण सार्वजनिक भएको छ। उक्त खर्च सम्बन्धी बिलमा कपिलवस्तु ठेगाना रहेको एक सामाजिक संस्थाको नाम उल्लेख भएको बताइएको छ।

Advertisement 3

यसैगरी सिलाइ तालिमसँग सम्बन्धित कार्यक्रमअन्तर्गत प्रति थान रु. १० हजारका दरले २७ वटा सिलाइ मेसिन खरिद गरिएको भन्दै रु. २ लाख ७० हजारको बिल प्रस्तुत गरिएको विषयमा पनि प्रश्न उठेको छ। स्थानीयले खरिद प्रक्रिया, कोटेशन, बजार मूल्य, गुणस्तर तथा वितरणको वास्तविक अवस्थाबारे सार्वजनिक जानकारी माग गरेका छन्।

 

स्थानीय युवाहरूले सार्वजनिक रकम खर्च गर्दा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिताको सिद्धान्त पालना हुनुपर्ने भन्दै नास्ता, होटल, तालिम तथा अन्य कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूको भनाइमा यदि कार्यक्रम वास्तवमै बेरोजगार महिलाको क्षमता विकास र रोजगारी प्रवर्द्धनमा केन्द्रित थियो भने त्यसको उपलब्धि र नतिजा समेत सार्वजनिक हुनुपर्छ।

 

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन बन्द रहेको बताइएको छ। गाउँपालिका अध्यक्ष छब्बन खाँ सँग पनि सम्पर्क हुन नसकेको स्रोतले जनाएको छ।

 

सार्वजनिक रकमको खर्चबारे उठेका प्रश्नहरूको तथ्यगत जवाफ, खर्चको विस्तृत विवरण तथा कार्यक्रमको उपलब्धि सार्वजनिक गर्न स्थानीयले गाउँपालिकासँग माग गरेका छन्। यद्यपि, यी आरोप तथा प्रश्नहरूको सम्बन्धमा गाउँपालिकाको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!