Listen LIVE

नेपालगञ्ज । पछिल्लो समय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी जिल्लाको समग्र सुरक्षा अवस्थाको निगरानीमा सक्रिय देखिए पनि प्रहरीको कामकारबाहीलाई लिएर विभिन्न आशंका र प्रश्नहरू उठ्न थालेका छन्।

Advertisement 1

 

एसपी जिसीले बाँके प्रहरीको कमाण्ड सम्हालेपछि विगतको तुलनामा जिल्लामा अराजक गतिविधि केही हदसम्म घट्दै गएको यथार्थ हो। प्रहरी निगरानी कडाइ गरिएको दाबी गर्दै आएको छ र पछिल्लो समय अवैध गतिविधिविरुद्ध निरन्तर कारबाही भइरहेको प्रहरीको भनाइ छ।

Advertisement 2

 

तर, यही कडाइ र निगरानीको नाममा आन्तरिक कमाउधन्दा पनि चलेको हुन सक्ने आशंका आम नागरिकमा देखिन थालेको छ। बाँके प्रहरीले पछिल्लो समय हुण्डी कारोबार, जुवातास लगायतका गतिविधिबाट करोडौँ रुपैयाँ बराबरको नगद तथा अवैध सामग्री बरामद गरेको भन्दै नियमित रूपमा विज्ञप्ती जारी गर्दै आएको छ। तर, ती बरामद रकम र सामग्री कहाँ, कसरी र कुन निकायमा जम्मा गरियो भन्ने विषयमा भने प्रहरीबाट स्पष्ट जानकारी सार्वजनिक भएको देखिँदैन।

Advertisement 3

 

पारदर्शिताका लागि बरामद भएका सबै नगद र सामग्रीबारे सार्वजनिक विवरण आउनुपर्ने माग नागरिकस्तरबाट उठिरहेको छ। अन्यथा, सुरक्षाको आवरणमा आन्तरिक आर्थिक चलखेल भएको भन्ने भ्रम र आशंका बढ्नु स्वाभाविक हुने जानकारहरू बताउँछन्।

 

यसैबीच, बाँके प्रहरीले हालै करिब ५ करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई, बालुवाटारबाट प्राप्त विवरणका आधारमा ठूलो मात्रामा शंकास्पद कारोबार भएको सूचनापछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा बाँकेको डुडुवा गाउँपालिका–६ निवासी ४० वर्षीय ईरफान अहमद शेखको खाताबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको प्रहरीले जनाएको छ। खातामा नगद जम्मा हुनेबित्तिकै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थामा रकम स्थानान्तरण हुने गरेको, सो कारोबारमा उनी ‘कन्डक्टर’को भूमिकामा संलग्न रहेको र केवाइसीमा उल्लेखित अनुमानित आम्दानी र वास्तविक कारोबारबीच ठूलो अन्तर देखिएको प्रहरीको भनाइ छ।

उक्त आधारमा २०८२ साउन ७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा ईरफान अहमद शेखविरुद्ध हुण्डी सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई पुस ११ गते शुक्रबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ अनुमति भने २०८२ भदौ ३० गते नै जारी भइसकेको प्रहरीले जनाएको छ।

 

हाल पक्राउ परेका प्रतिवादीमाथि हुण्डी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। एसपी अंगुर जिसीको नेतृत्वमा बाँके प्रहरीले अवैध आर्थिक गतिविधि, हुण्डी तथा संगठित अपराध नियन्त्रणमा प्रभावकारी काम गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि यस्ता गैरकानुनी कारोबारविरुद्ध कडा कारबाही जारी रहने जनाएको छ।

 

तर, विज्ञप्ती मात्र जारी गरेर बरामद रकम राज्यको ढुकुटीमा जम्मा भए वा नभएको स्पष्ट नगर्दा प्रहरीको पारदर्शितामाथि प्रश्न उठिरहेको छ। नागरिकले बुझ्ने गरी पत्रकार सम्मेलन वा सार्वजनिक विवरणमार्फत जानकारी दिनु बाँके प्रहरी र एसपी जिसीका लागि अहिलेको प्रमुख चुनौती बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!