नेपालगञ्ज : हिन्दू धर्मावलम्बीहरूले आज श्रावण शुक्ल पञ्चमीका दिन परम्पराअनुसार नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। वैदिक सनातन परम्परा अनुसार आजको दिन घरको मूल ढोकामा नागको चित्र टाँसी विधिपूर्वक पूजा गरी नागदेवताप्रति श्रद्धा व्यक्त गर्ने चलन रहेको छ।
Advertisement 1
धार्मिक मान्यता अनुसार आजको दिन नागका अष्टकुल – अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख – को पूजा गरिन्छ। गाईको गोबर प्रयोग गरी घरको ढोकामा नागका चित्र टाँस्ने, दुबो, अक्षता, दूध, खीर, रोटीलगायतका परिकार चढाएर पूजा गर्ने परम्परा छ।
Advertisement 2
पञ्चमी तिथिका स्वामी नागदेवता भएको कारण आजको दिन नागदेवता प्रसन्न हुने विश्वास गरिन्छ। पूजा गरेपछि वर्षभर नाग, सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने, चट्याङ, आगलागी र अन्य प्राकृतिक प्रकोपबाट घर सुरक्षित रहने धार्मिक विश्वास रहेको छ।
Advertisement 3
आजको दिन खेतबारी जोत्न, जग खनन गर्न वा नागसहितका घस्रने जीव मार्न निषेध गरिएको छ। शास्त्रमा उल्लेख भए अनुसार पाताल लोकका वासिन्दा मानिने नागलाई आजको दिन कष्ट नहोस् भन्ने हेतुले भूमि खनजोत नगर्ने मान्यता छ।
नागलाई जल, वर्षा र समृद्धिको प्रतीक मानिन्छ। जहाँ नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुने विश्वाससहित नागपूजाको प्रचलन रहेको छ। नाग रिसाए पानीका मुहान सुक्ने र घरको जग कमजोर हुने मान्यता पनि छ।
नागपूजा आज काठमाडौंको नक्सालस्थित नागपोखरी, टौदह, ललितपुरको धापाखेल नागदह, भक्तपुरको सिद्धपोखरी, चोभार, थानकोट, चाँगुनारायण, पनौतीलगायत देशभरका नागस्थान, कुण्ड, दहमा भव्य रुपमा गरिँदैछ। ती स्थानहरूमा मेला लागेका छन् र श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
वैज्ञानिक तर्क अनुसार पनि नागजस्ता जीवले विषालु पदार्थलाई सोस्ने क्षमता भएकाले वातावरणीय सन्तुलनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको छ। यही आधारमा ऋषिमुनिहरूले नागपूजाको परम्परा बसालेको विश्वास गरिन्छ।
धार्मिक ग्रन्थहरू – गरुण पुराण, स्कन्द पुराण, भविष्य पुराण, वराह पुराण तथा नारद पुराण लगायतमा नागपूजाको विस्तृत वर्णन पाइन्छ। साथै, नागपूजा परम्परा बौद्ध र जैन धर्ममा पनि पाइन्छ।
नागपञ्चमी पर्वसँगै चाडपर्वहरूको शुभारम्भ भएको छ।










प्रतिक्रिया