
नेपालगञ्ज, बाँके । थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पार्दै १४ पदक जितेको छ । प्रतियोगितामा सहभागी नेपालगञ्जका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै देशलाई गौरव दिलाएका छन् ।
Advertisement 1
६० किलो तौल समूहमा प्रतिस्पर्धा गरेका नेपालगञ्ज–१२, कोरियानपुरका करण बाडियाले २२० किलोग्राम तौल उठाएर हेक लिफ्टतर्फ विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जिते । त्यस्तै, उनले इन्क्लाइन बेन्च प्रेसमा रजत पदक पनि हात पार्न सफल भए । योसँगै उनले गत वर्ष कजाकिस्तानमा भएको प्रतियोगिता पछिको अर्को स्वर्ण थपेका हुन् । बाडिया एक्स्ट्रिम फिटनेस नेपालगञ्ज प्रा.लि. का सदस्य हुन् ।
Advertisement 2
त्यस्तै, नेपालगञ्ज–७, डीएसपी रोडका मोहित गुप्ताले ६८ किलो तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक तथा हेक लिफ्टमा कांस्य पदक जिते ।
Advertisement 3
नेपालगञ्ज–२, घरबारीटोलका सन्तोष काजी शाक्यले भने ७६ किलो तौल समूहमा पुरुषतर्फ रजत पदक जितेर टोलीको पदक सङ्ख्यामा महत्वपूर्ण योगदान पुर्याए ।
प्रतियोगितामा नेपालबाट ९ जना खेलाडी सहभागी भएका थिए, जसमा बाँकेबाट ३ र अन्य जिल्लाबाट ६ जना थिए । नेपाली टोलीले कुल ७ स्वर्ण, ५ रजत र २ कांस्य पदक जित्दै १४ पदकको कीर्तिमान कायम गर्यो । टिम इभेन्टमा नेपालले दोस्रो स्थान हासिल गर्यो ।
बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ एसोसियसनका अध्यक्ष बिनी टन्डनका अनुसार, बाडियाले ६० किलो तौल समूहमा २२० किलो हेक लिफ्ट गरेर नयाँ विश्व कीर्तिमान कायम गर्दै देशको गौरव बढाएका हुन् । उनले यस उपलब्धिको श्रेय आफ्ना प्रशिक्षक, परिवार र एक्स्ट्रिम फिटनेस टिमलाई दिएका छन् ।
बाडियाले भने– “हाम्रो टोलीको यो सफलताले नेपालगञ्ज र समग्र नेपालको सम्मान विश्वमञ्चमा उँचो बनाएको छ। समर्पण, कठिन प्रशिक्षण र आत्मविश्वासका कारण यो सम्भव भएको हो।”
बाडिया नियमित तौल अभ्यास, शारीरिक सहनशक्ति वृद्धि, पोषण, विश्राम र मानसिक दृढताको प्रशिक्षणमा समर्पित रहँदै आएका छन् । उनी नेपालगञ्जका युवालाई खेलकुदमा प्रेरित गर्ने उद्देश्यसहित प्रशिक्षण र सहभागिता बढाउने कार्यमा समेत सक्रिय छन् ।
यो सफलता केवल व्यक्तिगत विजय नभई, समग्र बाँके जिल्लाको खेल इतिहासमा ऐतिहासिक उपलब्धिको रूपमा लिइएको छ । बाडिया, गुप्ता र शाक्यको अथक मेहनतले नेपाललाई विश्व खेलमञ्चमा चिनाउने कार्यमा ठूलो टेवा पुर्याएको छ ।