नेपालगञ्ज, सन्देश भुसाल : गए राति करिब १२ बजेतिर कम्दी-पुरैनी-फुलटेक्रा हुँदै नेपालगञ्ज आउँदै गरेको भे १ च ३१५० नम्बरको बोरेलो पिकअप भ्यान पुरैनीमा दुर्घटनाग्रस्त भएको छ। विजयकुमार गुप्ताले चलाएको उक्त भ्यान अनियन्त्रित भई मैनु धिन खाँको एकतले पक्की घरमा ठोक्किन पुगेको हो।
Advertisement 1

दुर्घटनामा घरको अगाडिको सटरको बायाँ साइडको पिल्लर, पर्खाल र सटरमा क्षति पुगेको छ। भ्यानमा सवार अन्य दुईजना सामान्य घाइते भएका छन्। घाइते हुनेमा फुलटेक्रा बस्ने रमेश गुरुङ र उनका ६ वर्षीय छोरा प्रविन गुरुङ रहेका छन्, उनीहरुको अनुहारमा चोट लागेको छ। दुर्घटनामा भ्यानको अगाडिको भागमा पनि क्षति पुगेको छ।
Advertisement 2

घरमालिक मैनु धिन खाँले राति १० बजे पसल बन्द गरेर सुतिरहेको बेला ठूलो आवाज सुनेको बताए। ‘म निदाइसकेको थिएँ, एक्कासी बम पड्किएको जस्तो आवाज आयो। बाहिर आएर हेर्दा गाडी घरको पिल्लरमा ठोकिएको देखेँ,’ उनले भने।
Advertisement 3

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले घटनाको थप अनुसन्धानका लागि गाडी र चालक विजयकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।










प्रतिक्रिया