
कोहलपुर, बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा नजिक रहेको कौशिल्या अस्पताल प्रा.लि. ले आफ्नो नवौं वार्षिक उत्सव को अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
Advertisement 1
वार्षिक उत्सवको पहिलो दिन माघ २८ गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए। अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा शुभचिन्तकहरूले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए।
Advertisement 2
अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेका अनुसार, रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
Advertisement 3
वार्षिक उत्सवकै अवसरमा आज माघ २९ गते अस्पताल हाताभित्र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। अस्पतालका प्रबन्ध सञ्चालक रामप्रसाद न्यौपानेका अनुसार, शिविरमा आउने बिरामीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, आँखा परीक्षण तथा आवश्यक औषधि वितरण गरिने छ।
सन् २०६० सालदेखि सञ्चालनमा रहेको कौशिल्या अस्पतालले विशेषगरी प्यारालाइसिसका बिरामीहरूको उपचारमा विशेष ध्यान दिँदै आएको छ। अस्पतालका प्रबन्ध सञ्चालक रामप्रसाद न्यौपानेका अनुसार, गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ।
उनका अनुसार, नेपालका विभिन्न ठाउँहरू – पूर्वमा विराटनगर, धादिङ देखि पश्चिममा कञ्चनपुर, कैलाली, जुम्ला, हुम्ला सम्मबाट बिरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेका छन्।
अस्पतालले २४ सै घण्टा फिजिसियन सेवा, आँखा उपचार सेवा, बाल स्वास्थ्य सेवा लगायतका सुविधा प्रदान गर्दै आएको छ। साथै, अपांग, मुक्त कमैया तथा विपन्न वर्गका बिरामीहरूलाई विशेष छुट प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।
सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालले विभिन्न विद्यालय, संघसंस्थासँगको सहकार्यमा जनचेतनामूलक स्वास्थ्य कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि वसन्ती अधिकारीले अस्पतालको अवलोकन समेत गरेकी थिइन्। उनले अस्पतालले प्रदान गरिरहेको गुणस्तरीय सेवा प्रति खुसी व्यक्त गर्दै यस्ता समाजसेवी कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताइन्।
अस्पतालका निर्देशक रामप्रसाद न्यौपानेले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।