पोखरा : पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएको बलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।
घटनापछि वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
फागुन ३ गते पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उत्पन्न झिल्कोले आगो लागेर बलुन विस्फोट भएको थियो। बलुन विस्फोटका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।
कीर्तिपुर अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने चिकित्सकहरूले बताएका छन् ।
बलुनमा हाइड्रोजन भर्ने कार्यमा संलग्न रहेको आरोपमा भारतीय नागरिक कमलेस कुमारलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूसँग पनि अनुसन्धान भइरहेको छ।
प्रहरीले हाइड्रोजन उत्पादनदेखि बलुन भर्ने प्रक्रियासम्मको कानुनी अध्ययन गरी आवश्यक कारबाही सिफारिस गर्ने जनाएको छ ।
घटनापछि गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्। समितिलाई उक्त घटनाको विस्तृत अनुसन्धान गर्न तथा आगामी दिनमा हाइड्रोजन ग्यास नियमनका उपायहरू पेस गर्न निर्देशन दिइएको छ।
छानबिन समितिले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ।











