नेपालगन्ज, 2 माघ : नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को नेपालका लागि आधिकारिक दूत नियुक्त भएका छन्।
Advertisement 1
एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई दूतका रूपमा नियुक्त गरिएको मनोनयन पत्र पठाएका छन्। अध्यक्ष बोराओले ठकुरीको दीर्घकालीन अनुभव, नेपालगन्ज म्याराथनको सफल नेतृत्व र हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा गरिएको उत्कृष्ट प्रस्तुति हेरेर यो निर्णय गरिएको बताए।
Advertisement 2
ठकुरीले एम्सका दूतका रूपमा नेपालभित्र रेस आयोजक र निर्देशकलाई सदस्यता सम्बन्धी जानकारी दिनुका साथै एम्सका गतिविधिलाई समन्वय गर्ने जिम्मेवारी पाएका छन्। साथै, रनिङ समुदायमा हुने विवादका विषयमा बोर्डलाई रिपोर्टिङ गर्नु र सदस्यता विस्तारमा भूमिका खेल्नु पर्नेछ।
Advertisement 3
नेपालगन्ज म्याराथन एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो नेपाली म्याराथन आयोजक हो। जापानको ओसाकामा सम्पन्न २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले भाग लिंदै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए।
ठकुरीले दूत नियुक्त भएपछि नेपालगन्जवासीप्रति आभार प्रकट गर्दै नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरे। उनले नेपालको दौड संस्कृति र खेलकुदको विकासलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए।
नेपालगन्ज म्याराथनको दसौं संस्करण गत मंसिर २२ मा सम्पन्न भएको थियो। नेपाली सेनाका खडकबहादुर खड्काले म्याराथन उपाधि जित्दा हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले लगातार चौथोपटक उपाधि जित्न सफल भएकी थिइन्।
खेलकुद संस्कृति प्रवर्द्धनमा समर्पित ठकुरी यसअघि फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स (फिक्ट्स) का लागि पनि नेपालका दूत नियुक्त भइसकेका थिए। अब उनले दुई अन्तर्राष्ट्रिय संस्थाका दूतका रूपमा काम गर्दै नेपालको खेलकुद र दौड संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने अवसर पाएका छन्।
एम्स संसारभर १२० देशका साढे चार सयभन्दा बढी रेस आयोजकहरूको सदस्य संस्था हो। हालै भियतनामको हनोईमा सम्पन्न २४औं वर्ल्ड कंग्रेसमा नेपालगन्ज म्याराथनले २५औं कंग्रेस नेपालमा आयोजना गर्ने प्रस्ताव राख्दै ६५ मत प्राप्त गरेको थियो। यद्यपि, नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गर्दै आयोजनाको अधिकार जितेको छ।
नेपालगन्ज म्याराथनको सफलताले नेपालको दौड संस्कृतिमा नयाँ उचाइ थपेको ठकुरीले बताएका छन्।











