बाँके, नेपालगन्ज–कोहलपुर सडक खण्डको कोहलपुर नगरपालिका–१० रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट) मा हुर्किएका बिरुवा काट्ने व्यक्ति पक्राउ परेका छन् । डेढ महिनापछि कोहलपुर नगरपालिकाले अभद्र व्यवहारमा मुद्दा दिएपछि बिरुवा काट्ने रामनगरकै लक्ष्मीप्रसाद भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
Advertisement 1
नगरपालिकाले उजुरी दिएपछि बिरुवा काट्ने आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार भुसाल मंगलबार पक्राउ परेका थिए ।
Advertisement 2
‘नगरपालिकाले उजुरी दिएपछि हामीले पक्राउ गरेर अदालतबाट बुधबार म्याद थप गरिसकेका छौँ’ उनले मिसन टुडेसँग भने, ‘हिरासतमा राखेर अभद्र व्यवहारमा मुद्दामा अनुसन्धान भइरहेको छ ।’
Advertisement 3
कोहलपुर नगरपालिका–१० रामनगरमा गत भदौ २४ गते नगरपालिकाले रोपेका बिरुवा राति एकाएक काटिएको थियो । आराले धमाधम काटेर ५ वटा समीका बिरुवा ढलाइएका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अवलोकन गरेका थिए ।
घटनाको अध्ययन अवलोकनपश्चात रामनगरकै एक स्थानीय लक्ष्मीप्रसाद भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजसमेत प्रहरीले फेला पारेको थियो ।
बिरुवा काट्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको दियो । तर सोबेला प्रहरीले अर्को शीर्षकमा उजुरी ल्याउन भन्दै सो उजुरी फिर्ता पठाएको थियो ।
बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा राति भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले धमाधम काटिदिएका थिए |
उनको यो क्रियाकलाप नजिकै जडान गरिएको सिसी क्यामेरामा कैद भएको भेटिएको थियो । भुसाल हाफ प्यान्ट र चप्पल मात्र लगाएर हातमा आरा समातेर सडकमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ ।










प्रतिक्रिया