नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा २० अर्ब ९ करोड ४८ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार उक्त अवधिमा लक्ष्यको ८१.८७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो।
Advertisement 1
चालु आर्थिक वर्षका लागि भन्सार कार्यालयलाई २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो। तर लक्ष्यभन्दा करिब ४ अर्ब ४५ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
Advertisement 2
भन्सारको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष २०८०–८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यसपटकको सङ्कलन अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ।
Advertisement 3
नेपालगञ्ज भन्सार नाकाबाट इन्धन, ट्रेक्टर तथा ट्रेलर, पोलिथिन दाना, चामल, अन्य खाद्यान्न, फलाम तथा विभिन्न औद्योगिक कच्चा पदार्थको आयातबाट मुख्य रूपमा राजस्व सङ्कलन हुँदै आएको छ। यसैगरी जडीबुटीलगायतका सामग्रीको निकासी पनि यही नाकाबाट हुने गरेको छ।
भन्सार कार्यालयका अनुसार विश्वव्यापी आर्थिक मन्दी, इन्धन संकट तथा इन्धनको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण विकास निर्माणका गतिविधि सुस्त हुँदा र वस्तुको आयातमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको हो।
त्यसैगरी, पछिल्लो समय कालोपत्रे सडक निर्माणमा प्रयोग हुने बिटुमिन, कोइला, पीभीसी रेजिन, कम्पाउन्ड तथा अन्य कच्चा पदार्थको मूल्य उल्लेखनीय रूपमा बढेकाले आयात घटेको तथ्याङ्कले देखाएको छ। पुँजीगत खर्च अपेक्षाकृत कम हुनु र विकास आयोजनाहरूले अपेक्षित गति लिन नसक्नु पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुका प्रमुख कारण रहेको भन्सार कार्यालयको भनाइ छ।











