सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : बाँकेसँग सिमाना जोडिएको भारतको रूपैडिहा क्षेत्रमा सरसफाइ कर्मचारीहरूको आन्दोलनका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको छ। तलब समयमै नपाएको विरोधमा कर्मचारीहरूले सडकमा फोहोर फालेर प्रदर्शन गरेपछि अवस्था झनै बिग्रिएको हो।
Advertisement 1

कर्मचारीहरूका अनुसार केही महिनादेखि नियमित रूपमा तलब नपाएको र नगर पंचायतसँग बारम्बार पहल गर्दा पनि कुनै ठोस समाधान ननिस्किएपछि आन्दोलनमा उत्रिनु परेको हो। उनीहरूको हड्ताल लगातार तीन दिनसम्म जारी रहँदा नगरका मुख्य चोक–चौराहामा फोहोर थुप्रिएको छ।
Advertisement 2

यसबीच बिहीबार र शुक्रबार परेको वर्षाले समस्या अझ जटिल बनाएको छ। पानीका कारण रूपैडिहा बजार, बसपार्क, रेलवे स्टेशन रोड, सब्जी मण्डी, आपसमा जोडिएका गल्लीहरू तथा मुख्य राजमार्गमा किच्चड र फोहोर झनै फैलिएको छ। लामो समयसम्म सफाइ नभएकाले ती क्षेत्रहरू अत्यधिक प्रदूषित बनेका छन्।
Advertisement 3
फोहोर नउठेपछि केही व्यापारीहरूले सडकमै फोहोर जलाउन थालेका छन्, जसले गर्दा धुवाँका कारण वायु प्रदूषणसमेत बढेको छ। दुर्गन्ध र फोहोरका कारण स्थानीय बासिन्दा मात्र होइन, नेपालगञ्ज आवतजावत गर्ने यात्रु र पर्यटकहरू पनि प्रभावित भएका छन्।

चार दिनको हड्तालपछि सरसफाइ कर्मचारीहरू काममा फर्किएको जनाइएको भए पनि, थुप्रिएको फोहोर तत्काल व्यवस्थापन गर्न चुनौती देखिएको छ। सरोकारवाला निकायले छिटो समाधान नगरे स्वास्थ्य जोखिम अझ बढ्ने स्थानीयको चिन्ता छ।











