नेपालगन्ज, माघ १९ : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सौभाग्य जंग शाहले उम्मेदवारी दर्ता गरेसँगै स्थानीय राजनीति नयाँ मोडमा पुगेको छ। लामो समयदेखि परम्परागत दल र पुराना नेताप्रति बढ्दै गएको जनअसन्तुष्टिका बीच शाहको प्रवेशलाई परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
Advertisement 1

आफूलाई “जनताका उम्मेदवार”का रूपमा प्रस्तुत गर्दै शाहले राजनीति पदका लागि नभई जनताको आवाज संसदसम्म पुर्याउने अभियान भएको बताएका छन्। विकास, सुशासन र जवाफदेहितामा कुनै सम्झौता नहुने उनको स्पष्ट अडान छ।
Advertisement 2
उम्मेदवारी दर्तापछि शाहको अभियानप्रति युवाहरू, विभिन्न समुदाय र नागरिक समाजका व्यक्तिहरूको चासो र समर्थन बढ्दै गएको देखिन्छ। घरदैलो अभियानमार्फत उनले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, स्थानीय पूर्वाधार र भ्रष्टाचारविरुद्धका विषयलाई मुख्य एजेन्डा बनाएका छन्।
Advertisement 3

“यो चुनाव पदका लागि होइन, जनताको आवाज संसदसम्म पुर्याउने अभियान हो। हामी सबै मिलेर अघि बढ्यौं भने परिवर्तन सम्भव छ,” शाहले भने, “यो नयाँ क्रान्तिको सुरुआत पनि हो।”
शाहको चुनाव चिन्ह ‘कप प्लेट’ रहेको छ।
परिवर्तन, पारदर्शिता र नागरिकको प्रत्यक्ष सहभागितालाई केन्द्रमा राख्दै अघि बढेका शाहको घरदैलो अभियानले नेपालगन्जमा नयाँ राजनीतिक बहस र उत्साह सिर्जना गरेको छ। बहुजातीय र बहुभाषिक पहिचान रहेको नेपालगन्जलाई ध्यानमा राख्दै उनले आफ्नो एजेन्डा नेपाली, मैथिली र उर्दु गरी तीन भाषामा सार्वजनिक गरेका छन्।
“नेपालगन्जमा विभिन्न जात, धर्म र भाषा बोल्ने नागरिकको सहअस्तित्व छ। सबै मतदाताले मेरो सोच र योजना बुझ्न पाउनुपर्छ भन्ने उद्देश्यले तीन भाषामा एजेन्डा तयार गरिएको हो,” शाहले बताए।
लोकप्रिय युवा नेताका रूपमा परिचित शाह हाल बाँके–२ मा बलिया स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा छन्। उनले वर्षौँदेखि पुराना दल र नेताहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै, त्यसकै परिणामस्वरूप ‘जेन–जी’ युवाको असन्तुष्टि र आन्दोलन जन्मिएको उल्लेख गरे।
“उही दल, उही नेता र उही शैलीबाट अब परिवर्तन सम्भव छैन,” उनले भने, “यसपटक मत परिवर्तनको पक्षमा जानुहोस्। साँचो परिवर्तन चाहनुहुन्छ भने स्वतन्त्र उम्मेदवारलाई अवसर दिनुहोस्।”
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘कप प्लेट’मा मतदान गर्न उनले मतदातासँग आग्रह गरेका छन्। उनले चेतावनी दिँदै भने, “यदि फेरि उही पुराना पार्टी र नेताहरूलाई मतदान गरियो भने जेन–जी युवाको आवाज फेरि पनि अधुरै रहनेछ।”










प्रतिक्रिया