सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : पछिल्लो समय लोकदोहोरी गायक कमल बिसी ‘माल्दाइ’ मेला–महोत्सवमा अत्यन्तै व्यस्त देखिएका छन्। देशका विभिन्न स्थानमा आयोजना भइरहेका मेला महोत्सवमा उनी दर्शकलाई झुमाउँदै स्टेज तताइरहेका छन्।
Advertisement 1
कोहलपुरमा जारी महोत्सव २०८२, १२ गते आफ्नो प्रस्तुति दिन कमल बिसी कोहलपुर आएका थिए। फरक लुक्समा देखिएका उनले बाघको छाला जस्तो देखिने कोट–प्यान्ट लगाएर स्टेजमा प्रस्तुति दिएका थिए। उक्त लुक्स र अभिनयले दर्शकको ध्यान खिचेको थियो।
Advertisement 2
प्रस्तुतिका क्रममा उनले अन्य महोत्सवहरूमा जस्तै आफ्ना चर्चित गीतहरू गाएका थिए। विशेषगरी ‘पहिलो एक्सले छोडेपछि पिउन थालेको’ बोलको गीत गाउने क्रममा दर्शक निकै उत्साहित बनेका थिए। पाँच वर्षअघि सार्वजनिक भएको यो गीत पछिल्लो समय फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
Advertisement 3
उक्त प्रस्तुतिको भिडियो टिकटक, फेसबुक रील्स तथा युट्युबजस्ता सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। कतिपयले उनको प्रस्तुति मन पराएका छन् भने कतिपयले लुक्स र अभिनयलाई लिएर ट्रोल तथा आलोचना पनि गरिरहेका छन्। कसैले यसलाई दर्शक झुमाउने कला भनेका छन् भने कसैले उच्छृङ्खल प्रस्तुति भन्दै विरोध जनाएका छन्।
स्टेजमा माहोल तताउन उनले दर्शकसँग ‘कता–कता’ भन्दै संवाद गरेका थिए, जसमा दर्शकहरूले ‘यता–यता’ भन्दै प्रतिक्रिया दिएका थिए। सोही क्रममा उनले स्टेजबाट चकलेट पनि दर्शकहरूतर्फ फ्याँकेका थिए।
यद्यपि, कमल बिसीले यो गीत मात्र होइन, ‘बर्दियामा घर छ’, ‘डोरी बाटेर’, ‘भगवानलाई झुक्ने गराउँछु’ जस्ता उनका अन्य गीतहरू पनि लोकप्रिय छन्। पहिला मेला–महोत्सवमा स्टेज तताउने कलाकारका रूपमा ज्योति मगर र दुर्गेश थापाको नाम अगाडि आउँथ्यो भने यसपटक कमल बिसी ‘माल्दाइ’को नाम अग्रपङ्क्तिमा देखिन थालेको छ।
तर, केही दर्शक तथा आलोचकहरूले भने कलाकारले कला देखाउनुपर्नेमा चर्तिकला देखाएको आरोप लगाएका छन्। गत वर्ष पनि यस्तै प्रस्तुति देखाएको र यस वर्ष अझै बढाएको भन्दै उनीमाथि आलोचना भइरहेको छ। कतिपयले ‘ताइ न तुइको गीत गाएको’ भन्दै असन्तुष्टि जनाएका छन्।
महोत्सवहरू सकेर कमल बिसी हालै आफ्नो कार्यथलो काठमाडौँ फर्किएका छन्। सामाजिक सञ्जालमा भइरहेको ट्रोल र आलोचनालाई भने उनले सकारात्मक रूपमा लिएको बताएका छन्। उनका अनुसार,“फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।”
बर्दियामा जन्मिएका कमल बुढाथोकी, जो अहिले कमल बिसी ‘माल्दाइ’ नामले चिनिन्छन्, पछिल्लो समय चर्चाको केन्द्रमा छन्। उनका प्रस्तुतिलाई कला मान्ने कि चर्तिकला भन्ने बहस भने अझै जारी छ।









प्रतिक्रिया