नेपालगन्ज । पश्चिम नेपालमा बढ्दो सार्वजनिक स्वास्थ्य चासोको विषय बनेको सिफलिस (Syphilis) रोगको वैज्ञानिक तथ्य संकलन र प्रभावकारी व्यवस्थापनका लागि VENUS Study 2026 (Venereal Disease Surveillance, Unveiling Syphilis) औपचारिक रूपमा सुरु भएको छ।
Advertisement 1
उक्त अध्ययनको उद्घाटन तथा इन्डक्सन बैठक आज भेरी अस्पताल, नेपालगन्जमा सम्पन्न भएको हो।
Advertisement 2
भेरी अस्पतालमा सन् २०२६ भरि सञ्चालन हुने यो एक वर्षे Prospective अध्ययन ले पश्चिम नेपालमा देखिने सिफलिस रोगको वर्तमान क्लिनिकल अवस्था, रोगको स्वरूप, उपचार अभ्यास तथा सार्वजनिक स्वास्थ्यमा पार्ने प्रभावलाई व्यवस्थित रूपमा दस्तावेज गर्ने लक्ष्य लिएको छ। साथै, प्रमाणमा आधारित रेफरल प्रणाली, उपचार अभ्यास सुदृढीकरण तथा नीतिगत संवादलाई मजबुत बनाउने उद्देश्य समेत अध्ययनले राखेको छ।
Advertisement 3
उद्घाटन कार्यक्रममा अध्ययनको आवश्यकता, उद्देश्य, कार्यविधि, रेफरल फ्रेमवर्क तथा सहभागी स्वास्थ्य संस्थाबीचको समन्वय प्रणालीबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। बैठकमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले अध्ययनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहकार्य र समन्वयको महत्वबारे छलफल गरेका थिए।
VENUS Study 2026 का प्रमुख अनुसन्धानकर्ता तथा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं ले सिफलिस जस्तो यौनरोग समयमै पहिचान र उपचार नभए गम्भीर स्वास्थ्य समस्याको कारण बन्न सक्ने उल्लेख गर्नुभयो। उहाँले यो अध्ययनले पश्चिम नेपालमा सिफलिस रोगको नियन्त्रण, व्यवस्थापन र दीर्घकालीन रणनीति निर्माणका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य क्षेत्रका विभिन्न तहका रेफरल केन्द्र, चिकित्सक तथा संस्थाहरूको सक्रिय सहभागिताले अध्ययनलाई सफल बनाउने अपेक्षा गरिएको छ।
अध्ययन अन्तर्गत भेरी अस्पतालको छाला तथा यौनरोग विभागमा विशेष ‘VENUS Corner’ स्थापना गरिएको छ। सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा विभागको कोठा नम्बर २२ बाट सुरक्षित, गोप्य र व्यवस्थित रूपमा प्रदान गरिने अस्पतालले जनाएको छ।










प्रतिक्रिया