नेपालगन्ज । गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। यो पर्व गुरुङ समुदायको पहिचान, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको छ।
Advertisement 1
तमु ल्होसार सूर्यको गति र किरणसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत क्षेत्रमा सूर्यको ताप छिटो पर्ने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको किम्बदन्ती रहेको छ। यसै विश्वासअनुसार त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोवास भएका क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने गरिन्छ।
Advertisement 2
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्व रहेको जानकारहरू बताउँछन्। यो दिनदेखि उज्यालो बढ्दै जाने विश्वास गरिन्छ, जसलाई नयाँ सुरुवात र सकारात्मक परिवर्तनको संकेतका रूपमा लिइन्छ।
Advertisement 3
तमु ल्होसारको अवसरमा गुरुङ समुदायले परम्परागत भेषभूषा, नाचगान, पूजा–आराधना तथा शुभकामना आदान–प्रदान गर्दै पर्व मनाउने गर्छन्। पर्वको सम्मानस्वरूप आज नेपाल सरकारले सार्वजनिक विदा पनि दिएको छ।










प्रतिक्रिया