कैलाली : कैलालीको अत्तरियामा आफूलाई कलाकार तथा व्यवसायी बताउने ज्ञानेन्द्र खड्का अभद्र व्यवहार मुद्दामा पक्राउ परेपछि हाजिरजमानीमा रिहा भएका छन्। इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डीएसपी रण चन्दले खड्कालाई मंगलबार छाडिएको जानकारी दिए।
Advertisement 1
यद्यपि, प्रहरी स्रोतका अनुसार खड्का गत अप्रिल ११ मा भारतको राजधानी दिल्लीमा भएको ठूलो चोरी घटनासँग जोडिएको आशंकामा पक्राउ परेका थिए। सोही प्रकरणमा संलग्न अन्य ७ जनालाई भने इलाका प्रहरी कार्यालय घोडाघोडी सुखडले मुद्दा चलाएको छ र उनीहरु बुधबार अदालतमा पेश भएका छन्। अदालतले उनीहरुलाई थुनामा राख्ने वा छाड्ने भन्ने निर्णय आज गर्नेछ।
Advertisement 2
भारतको राजस्थान निवासी दिल्लीमा घर भएका कपिल बद्रीलालको घरमा भएको चोरीको घटनामा संलग्न भएको आशंकामा कैलालीबाट ८ जना पक्राउ परेका थिए। तर, नेपालको कानुनी जटिलताका कारण चोरीमा पक्राउ परेकाहरुलाई अभद्र व्यवहार मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
Advertisement 3
दिल्लीमा योजनाबद्ध रुपमा भएको उक्त चोरीबारे भारतीय दूतावासले नेपाल प्रहरी प्रधान कार्यालयलाई समन्वयका लागि अनुरोध गरेपछि अनुसन्धान सुरु भएको थियो। पक्राउ पर्नेमा धनगढीका तीन सुनचाँदी व्यवसायी सुरेश बर्मा, दिपेन्द्र सोप र रोहित सिजापती, अछामका राजेश साउद, गोकुल साउद, सुरेश साउद र गोदावरी नगरपालिकाका मिनबहादुर गुरुङ रहेका छन्। यसै प्रकरणमा समातिएका ज्ञानेन्द्र खड्का सामाजिक सञ्जालमा प्रहरीसँग निकट देखिएका थिए।
उक्त चोरी प्रकरणमा संलग्न दुई भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गहना, ४ किलो ९०० ग्राम चाँदी र चार वटा घडी बरामद भएको छ।
भारतीय दूतावासले कपिलको घरबाट २ किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको जानकारी गराउँदै अनुसन्धानमा सहयोगका लागि औपचारिक अनुरोध गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यो गिरोहले घरेलु कामदारमार्फत सूचना संकलन गरी योजना बनाएर चोरी गर्ने र नेपालमा सुनचाँदी व्यवसायीमार्फत बिक्री गर्ने गरेको खुलेको छ। दिल्लीमा नेपाली कामदारलाई भर्ना गराई उनीहरुबाट घरभित्रको जानकारी लिई चोरी गर्ने गरेको र चोरीका सामान नेपाल ल्याएर यहाँका व्यवसायी र विचौलियाको सहयोगमा बिक्री गर्ने गरेको पाइएको छ।
भारतमा भएको चोरीमा दुई देशबीच संयुक्त कानुन नभए पनि प्रहरीले समन्वय गरी बरामद भएको नगद र गरगहना सम्बन्धित व्यक्तिलाई फिर्ता गराउने प्रक्रिया अगाडि बढाएको छ। प्रहरीका अनुसार भारतमा घरेलु कामदारका रुपमा जाने केही नेपाली संगठित रुपमा चोरीमा संलग्न हुने गरेको देखिएको छ।
यस गिरोहमा अत्तरियाका खड्का र गुरुङले विचौलियाको भूमिका खेलेको आशंका गरिएको छ भने केही प्रहरी कर्मचारीको समेत संलग्नता हुनसक्ने भन्दै उनीहरुलाई पनि निगरानीमा राखिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले मिलेमतोमा आर्थिक चलखेल भएको हुनसक्ने अनुमान गरेको छ।











