सन्देश भुसाल, नेपालगञ्ज : आज देशभर आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी श्रद्धा र भक्तिसाथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्दै यो पर्व मनाउने चलन छ। आजको दिन सन्तानहरूले बिहानै उठी स्नान गरी आमालाई राम्रा लुगा लगाइदिने, मीठामीठा र तागतिला खानेकुरा खान दिने तथा आशीर्वाद थाप्ने परम्परा रहेको छ। जीवित आमालाई सम्मान गरेर खुसी बनाइने यो दिन दिवङ्गत आमाका लागि तर्पण, पिण्डदान र सिदादान गरिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार सनातन वैदिक शास्त्रमा जननी र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो र प्यारो मानिएको छ। उनले जन्म दिने आमाको महत्व बाबुभन्दा हजार गुणा बढी हुने शास्त्रीय मान्यता रहेको बताए। जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने भनिएजस्तै आमाप्रति श्रद्धा प्रकट गर्नु पनि आवश्यक रहेको उल्लेख गरिएको छ। ९ महिना गर्भमा धारण गरी जीवन दिने आमाप्रति कृतज्ञता प्रकट गर्ने आजको दिन दिवङ्गत आमाका नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ। शास्त्रीय मान्यताअनुसार आज श्राद्ध गर्दा दिवङ्गत आमाले आश गरी आशीर्वाद दिने विश्वास रहिआएको छ। यस अवसरमा काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने गरेको छ। मातातीर्थ स्नान गरी दिवङ्गत आमाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न भक्तजनको ठूलो भीड लागेको छ। Post navigation रुपैडिहामा चोरीका १५ मोटरसाइकलसहित दुई युवक पक्राउ पत्रकार कि ठग ? उदय बहादुर सिंह श्रेष्ठ, अनुसन्धान जारी