सन्देश भुसाल,नेपालगञ्ज : नेपालगञ्ज–१० निवासी पत्रकार तथा ‘ध्वनी खबर डटकम’ सञ्चालक उदय बहादुर सिंह श्रेष्ठआपराधिक लाभ लिएको अभियोगमा बाँके प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । श्रेष्ठमाथि विभिन्न व्यवसायी, एम्बुलेन्स चालक तथा संस्थालाई धम्की दिँदै रकम असुली गरेको आरोप लागेको छ। बाँके प्रहरीका अनुसार श्रेष्ठलाई जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो।
Advertisement 1
ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठ आपराधिक लाभको आरोपमा पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार श्रेष्ठले व्यवसायीलाई धम्क्याउँदै लाखौं रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठले ‘पैसा नदिए समाचार हाल्छु’ भन्दै व्यावसायिक प्रतिष्ठा ध्वस्त पार्ने धम्की दिने गरेको खुलेको प्रहरीले जनाएको छ।
Advertisement 2
उनले सामाजिक सञ्जालहरूमा विभिन्न व्यवसायी र एम्बुलेन्स चालकहरूमाथि जथाभावी आरोप लगाउँदै स्टाटस लेख्ने, चरित्र हत्या गर्ने र त्यसैलाई बार्गेनिङको हतियार बनाउने गरेको बताइएको छ। बाँकेका कबाडी व्यवसायी, एम्बुलेन्स चालक संघ र अन्य निजी क्षेत्रका व्यक्तिहरूले श्रेष्ठविरुद्ध उजुरी दिएका छन्।
Advertisement 3

यस प्रकरणमा भारतको लखनउस्थित देविना अस्पतालका चिकित्सक डा. बिनय सिंह पनि संलग्न भएको खुलासा भएको छ। गोप्य सूचनाअनुसार डा. सिंहले लखनउका चिकित्सकहरूलाई “नेपालबाट तिम्रो अस्पतालको समाचार बजाइदिन्छु” भन्दै धम्की दिने गरेका थिए।

उनले आफू उदय श्रेष्ठसँग निकट रहेको दाबी गरेर ठगी गर्ने गरेको बताइएको छ। एक गोप्य सूचकका अनुसार सिंहको गाडी (UP 14 V 0002) उदय श्रेष्ठको घरअगाडि पार्क गरिएको भिडियोसमेत सार्वजनिक भइसकेको छ, जसले दुवैको सम्बन्ध पुष्टि गर्छ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका पदाधिकारीका अनुसार श्रेष्ठले भारतका विभिन्न अस्पतालबाट कमिशन खाँदै आएको, पछिल्लो समयमा २५ लाख भारतीय रुपैयाँ माग्दा नपाएको झोंकमा नेपाली एम्बुलेन्स चालक तथा सञ्चालकहरूलाई बदनाम गर्न खोजेको आरोप लगाइएको छ।
उनीहरूले श्रेष्ठमाथि एम्बुलेन्स सेवा बन्धक बनाउने, सामाजिक संजालमा गलत सूचना प्रवाह गर्ने, तथा पत्रकारको नाममा व्यवसायीहरूलाई सताउने काम गर्दै आएको गुनासो गरेका छन्।
प्रहरीले श्रेष्ठविरुद्ध थप उजुरीहरू दर्ता भइरहेको र अनुसन्धानको दायरा फराकिलो बनाइएको जनाएको छ। बैंक ट्रान्जेक्सन, कल रेकर्ड लगायत डिजिटल प्रमाणहरू अध्ययन गरेर थप कारबाही अगाडि बढाइने डीएसपी पातलीले जानकारी दिएका छन्।
स्थानीयवासी र व्यावसायिक संघसंस्थाहरूले श्रेष्ठमाथि ‘पत्रकारको दम्भ देखाएर पैसा असुल्ने’ गरेको आरोप लगाएका छन्। उनीहरूले यस्तो व्यक्तिमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
श्रेष्ठविरुद्धको उजुरी र प्रमाणहरूका आधारमा प्रहरीले थप म्याद लिई अनुसन्धान गरिरहेको छ। बाँके प्रहरीले यसलाई पत्रकारिता क्षेत्रकै गरिमा र विश्वसनीयतामाथिको गम्भीर प्रहार मानेको छ।
उदय श्रेष्ठमाथि लागेको आपराधिक लाभ र ठगी अभियोगले नेपालगञ्जको पत्रकारिता जगतलाई गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। डा. बिनय सिंहसँगको अन्तरदेशीय संलग्नता झनै चिउँडो झुकाउने खालको छ। अब अनुसन्धानले साँचो सत्य उजागर गर्नेछ पत्रकारको आवरणमा कसले के गरिरहेको थियो भन्ने प्रश्नको जवाफसहित।










प्रतिक्रिया