सन्देश भुसाल, बाँके : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपराह्न ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। विद्यालयबाट फर्किरहेका विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिएको थियो।
Advertisement 1
डुडुवा गाउँपालिका–२ स्थित नौरीगौडी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत ९–१० वर्ष उमेरका सहोदर दाजुभाइ विशाल र शिव कुमार गोडिया स्कुलबाट घर फर्किने क्रममा बेतहनी चोकमा दुर्घटनामा परेका हुन्। प्रत्यक्षदर्शीका अनुसार, ट्यांकरले पहिलो ठक्कर दिएको समयमा उनीहरू सडकमा लडेका थिए। त्यसपछि पुनः पछाडिबाट ट्यांकरले किच्दा दुबै बालकको घटनास्थलमै मृत्यु भएको थियो।
Advertisement 2
दुर्घटनापछि आक्रोशित स्थानीयले ट्यांकरमा आगजनी गर्दै ध्वस्त पारेका छन्। त्यति मात्र नभई, उनीहरूले प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा गरेका छन्। स्थानीयबासीले प्रहरीमाथि चालकलाई जोगाउने प्रयास गरेको आरोप लगाउँदै चौकी घेराउ गरेका थिए।
Advertisement 3
स्थिति नियन्त्रणमा लिन प्रहरी प्रशासनले दर्जनौँ अश्रुग्यास प्रहार गरेको र केही राउण्ड हवाई फायर समेत गरेको छ। यद्यपि, स्थानीयको आक्रोश मत्थर भइसकेको छैन। उनीहरूले मृतक बालकको शव सडकमा राखेर प्रदर्शन जारी राखेका छन्।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दोषी चालकलाई कारबाही गरिने बताए। ट्यांकर चालक कर्णबहादुर बुढालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
हाल बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीयबासीले मृतक बालकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी चालकलाई कडा कारबाही गर्नुपर्ने तथा दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षासम्बन्धी कडा नियम लागू गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्।
प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन निरन्तर प्रयास गरिरहेको भए पनि स्थानीयको आक्रोश कम भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिएका छन्।










प्रतिक्रिया