{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सन्देश भुसाल,तुलसीपुर, दाङ ; तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बस्दै आएकी ९ वर्षीया बालिका दिपशिखा वलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। घटना हिजो शनिबार दिउँसो करिब २:१५ बजे अटो भिलेज नजिकै घटेको थियो।

 

सल्यानको छत्रेश्वरी गाउँपालिका–२ निवासी दिपशिखा तुलसीपुर–९ स्थित आफ्नी अन्टीको घरमा बसेर अध्ययनरत थिइन्। शनिबार विद्यालय विदा भएकाले नुहाइधुहाइ गरी उनी नजिकैको पसल गएकी थिइन्। पसलबाट फर्कने क्रममा रा १ त ३२३९ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दियो। स्थानीयका अनुसार ठक्करपछि ठूलो आवाज आयो, जसले सबैको ध्यान आकर्षित गर्‍यो। तर, जब स्थानीयबासी घटनास्थलमा पुगे, उनी रक्ताम्य अवस्थामा थिइन्। टाउकोमा गम्भीर चोट लागेका कारण घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

९ वर्षीया बालिका दिपशिखा वली
९ वर्षीया बालिका दिपशिखा वली

दिपशिखा आफ्ना आमाबुवाकी एक्ली सन्तान थिइन्। उनकी आमा सुशीला वली वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको र उनका बुवा दुर्गालाल वली भारतमा बस्दै आएका थिए। छोरीको राम्रो भविष्यका लागि विदेशिनु परेको भए पनि अहिले उनीहरूले सबै गुमाउनु परेको छ। दुर्घटनाको खबर पाएपछि दुर्गालाल भारतबाट तुलसीपुर आइपुगेका छन् भने आमा सुशीला कतारबाट नेपालगञ्ज हुँदै तुलसीपुर आइरहेकी छन्।

 

घटनाको २४ घण्टाभन्दा बढी भइसक्दा पनि प्रहरीले चालकलाई पक्राउ गर्न सकेको छैन। स्थानीय र आफन्तजनले प्रहरी प्रशासनको लापरबाही भएको आरोप लगाएका छन्। एक आफन्तले आक्रोश पोख्दै भने, “नेपालमा कानुन कमजोर छ। यदि यो घटना अन्य देशमा भएको भए दोषीले तुरुन्तै सजाय पाइसक्थे।”

 

चालकसँग लाइसेन्स नै नभएको र घटनालाई मिलाउन प्रयास भइरहेको भन्ने हल्ला चलेपछि परिवार झनै आक्रोशित बनेको छ। “हामीले कुनै पनि हालतमा सौदाबाजी मान्दैनौँ। दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ,” आफन्तजनले भने।

 

बसपार्क क्षेत्र नजिक दुर्घटनाका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ। तुलसीपुर बसपार्कमा चालकहरू गाडी सहचालकलाई जिम्मा लगाएर आफैं अन्य काममा व्यस्त हुने गरेको पाइन्छ। यसबारे एक स्थानीय महिलाले भनिन्, “यदि गाडी बिग्रिएको छ भने किन चालक आफैं ग्यारेजसम्म नलैजाने? यो लापरबाही नै दुर्घटनाको कारण हो।”

 

दिपशिखाको मृत्युको न्यायको माग गर्दै शनिबार राति अबेरसम्म आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए। प्रदर्शनमा बालबालिकासमेत सहभागी भएका थिए। करिब १२ बजे राति मात्र शव अस्पताल लैजान अनुमति दिइएको थियो।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य रानाका अनुसार चालक अझै फरार रहेको र खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार परिवारका सदस्यहरू भेला भएपछि मात्रै थप छलफल गरिनेछ। दिपशिखाको शव अहिले राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ।

 

परिवार र स्थानीयले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। “हाम्रो छोरीको ज्यान गएको छ। दोषीले सजाय नपाएसम्म हामी संघर्ष गर्छौँ,” उनका आफन्तले भने।

 

यो घटना केवल एउटा दुर्घटना होइन, ट्राफिक नियमको लापरबाही, कमजोर कानुनी व्यवस्था र प्रशासनिक उदासिनताको प्रतीक हो। दोषीलाई कडा कारबाही भए मात्र भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिनेछ।

Leave a Reply

error: Content is protected !!