नेपालगन्ज, बाँके : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको ३४औं वार्षिक साधारण सभा खजुरा गाउँपालिका–२ स्थित सीतापुरमा सम्पन्न भएको छ। रेडक्रस सोसाइटी सीतापुर उपशाखाको आतिथ्यमा सम्पन्न सभामा विभिन्न क्षेत्रका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
Advertisement 1
साधारण सभालाई सम्बोधन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जिल्लामा रेडक्रसले विपद् व्यवस्थापन, रक्त सञ्चार तथा मानव सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताए। उनले पालिकाको तर्फबाट रेडक्रससँग सहकार्य गर्दै विपद् व्यवस्थापन तथा रक्त सञ्चार सेवा इकाई सञ्चालनमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले समुदायमा रेडक्रसले पुर्याउँदै आएको सेवा प्रशंसनीय रहेको बताउँदै विपद् प्रतिकार्यका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन क्षमता विकास आवश्यक रहेको धारणा राखिन्।
Advertisement 2
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ६ लाख ३५ हजार ७५२ जना प्रत्यक्ष लाभान्वित भएको जानकारी गराए।विपद् व्यवस्थापन : ५ लाख ३७ हजार ४३४ जना,स्वास्थ्य सेवा गतिविधि : ५६ हजार ३६५ जना,सञ्चार तथा मानवीय मूल्य प्रवर्द्धन :२३ हजार ८०७ जना, युवा रेडक्रस गतिविधि : १४ हजार ७७२ जना, सामुदायिक विकास कार्यक्रम :२१४ जना, रक्त सञ्चार सेवा :१९ हजार ८२२ जना लाभान्वित त्यस्तै, एम्बुलेन्स सेवा मार्फत ९१० बिरामीहरूलाई सेवा प्रदान गरिएको उनले जानकारी गराए।
Advertisement 3
बार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा बाँके जिल्लाका १७ उपशाखामध्ये उत्कृष्ट सेवा प्रदान गरेको भन्दै खजुरा उपशाखा लाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ। साथै, जुनियर तथा युवा रेडक्रस गतिविधि अन्तर्गत सिद्देश्वर माध्यमिक विद्यालय, सिधनवा लाई उत्कृष्ट सर्कल घोषित गर्दै विद्यालयका शिक्षकनायक दिर्घराज बजगाई लाई उत्कृष्ट शिक्षकनायक घोषणा गरी नगदसहित सम्मान गरिएको छ।

शाखाका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ करोड ६ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रसले जिल्ला भित्रका उपशाखाहरूमार्फत प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै सरकारको सहयोगी निकायको रूपमा समन्वयलाई थप सशक्त बनाइने बताए।
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष धनराम वली, पूर्व संघीय सांसद नन्दलाल रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, कोहलपुर उपशाखाका सभापति संजय पन्तलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम नेरेसो सीतापुर उपशाखाका सभापति यमनारायण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।










प्रतिक्रिया